काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् ।गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप ३ जना नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ । योसँगै ९ साताको अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय ३० जना पुगेको एनआरएनले जनाएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार
कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको छ । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।शुक्रबारसम्म मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।
यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियाबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् ।यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका एनआरएनको साप्ताहिक बुलेटिनमा उल्लेख छ ।
४० जना नेपालीको शव नेपाल लगियो
यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो ।अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ ।
मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका पनि छन् ।अझै १६४ शवको व्यवस्थापन बाँकी छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।