पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् ।१९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा थिए । आमाले लकडाउनपछि गाउँ छोडेकी छैनन्,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने, ‘उहाँहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।’
शिशुका बाबु केही दिनअघिमात्रै गाउँ आएका थिए । तर, गाउँ आएर पनि सीधै क्वारेन्टिनमा बसिरहेको अधिकृत सापकोटाले बताए । उनले अनलाइनखबरसँग भने, ‘बा सुरुमा खाना लगेर शिशु भेट्न गएका रहेछन् । त्यही आधारमा हामीले परिवारकै स्वाब परीक्षण गर्न पठाएका थियौं । तर, शिशुको मात्रै पोजेटिभ आयो ।’ उनले परिवारका अन्य सदस्य तथा सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ सुरु गरिने जानकारी दिए ।मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित ४१ वर्षीय पुरुष २२ दिनअघि बम्बैबाट गाउँ फर्किएका थिए । १५ दिन पठाएको स्वाब परीक्षणको नतिजा शनिबार आएको हो । गाउँपालिकाको क्वारेन्टिनमा अहिले १९ जना छन् ।