वीरगंज। चिकित्सा अध्ययन गर्न चाहने १२ कक्षाका एक विद्यार्थीले आफ्नी आमाको उपचार तथा भाइबहिनीको विद्यालय शुल्कको लागि मानिसहरूको शव व्यवस्थापन गर्ने काम सुरु गरेका छन् । उनले नाम चन्द मोहम्मद हो । उनकी आमा थाइराइडको अनियमितताको समस्या सामना गरिरहेकी छिन् । उनलाई अहिले तत्कालै उपचारको खाँचो छ । तर उनको उपचारका लागि परिवारसँग आवश्यक रकम छैन ।‘लकडाउनको कारण मेरो दाइको कृष्णनगर बजारको किराना पसलमा गर्दै आएको काम गुमेपछि हामीले मुस्किलले हातमुख जोडिरहेका छौं’, २० वर्षीय मोहम्मदले भने । उनी उत्तरपूर्वी दिल्लीको सिलामपुर भन्ने स्थानमा बस्छन् । उनको परिवार छिमेकीले दिएको रासन र चन्दका दाजुभाइहरूले कमाएर ल्याएको पैसाले पालिएको छ ।
एक सातअघि चन्दले दिल्लीस्थित लोक नायम जयप्रकाश नारायण अस्पतालमा सरसफाइको काम पाए । उनले अस्पतालमा कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरूको शव व्यवस्थापन गर्नुपर्ने थियो । उनको काम दिउँसो १२ देखि बेलुका ८ बजेसम्म तोकिएको थियो ।‘मेरो काम पाउने सबै विकल्प सकिएपछि म यो काम गर्न थालेँ । कोरोना भाइरस संक्रमण हुने उच्च जोखिम भएकाले मेरा लागि यो निकै जोखिमपूर्ण काम हो, तर मलाई केवल काम चाहिएको थियो’ उनले भने ।‘तीन दिदीबहिनी, दुई दाजुभाइ र आमाबाबुसहितको हाम्रो परिवार पैसा नभएको कारण संघर्ष गरिरहेको छ । अहिले हामीलाई खाना र आमालाई औषधिको खाँचो छ’, चन्द भन्छन् ।
‘धेरै दिन घरमा एकदिन मात्र खाना पाक्यो । त्यतिबेला कोरोना भाइरसबाट बचे पनि भोकमरीबाट भाग्न नसक्ने सम्भावना थियो’, उनले भने । चन्दका अनुसार उनका तीन बहिनी विद्यालयमा पढ्दै छन् । उनी आफैँ पनि १२ मा पढ्ने विद्यार्थी हुन्, उनले अहिलेसम्म विद्यालयको शुल्क बुझाउन सकेका छैनन् ।‘पढाइको लागि पैसा चाहिन्छ’, उनले भने ।आफ्नो पहिलो तलबले केही समयका लागि सबै कुराको व्यवस्था हुने आशा चन्दको छ । चन्द घरबाहिर निस्किँदा नमाज पढेर निस्किन्छन् । उनी आफूलाई ईश्वरमा विश्वास रहेको बताउँछन् । ईश्वरले नै आफ्नो ख्याल राख्ने र आफूलाई नयाँ बाटो देखाउने उनको भनाइ छ । उनी चिकित्सा अध्ययन गर्ने आफ्नो चाहना रहेको सुनाउँछन् ।अहिले परिवारका कान्छा भाइ सबैभन्दा जोखिम रहेको काम गरिरहेका छन् । उनीको निजी कम्पनीबाट कुनै बिमा पनि गरिएको छैन ।‘विश्वमा अहिले सबैभन्दा जोखिमपूर्ण काम कोभिड–१९ बाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्नु हो र यसको लागि हामीलाई मासिक १७ हजार रुपैयाँ दिइन्छ’, चन्दले भने ।
प्रत्येक दिन चन्दले अर्का एक साथीसँग मिलेर करिब दुईदेखि तीनओटा शव व्यवस्थापन गर्छन् । ‘हामीले शवलाई एम्बुलेन्सभित्र राख्नुपर्छ, शवगृहमा पुर्याउने र त्यहाँ पुगेपछि स्ट्रेचरमा राख्ने काम गर्नुपर्छ’, उनले भने । ‘यो काम गर्दा पीपीई लागाउनुपर्ने हुन्छ, जुन धेरै गह्रौं हुन्छ । यसले यताउता हलचल गर्न गाह्रो हुन्छ र उकुसमुकस हुन्छ । यति धेरै गर्मीमा तपाईं पसिनाले नै नुहाइसकेको हुनुहुनेछ ।’गत मंगलबार उनी एक्लैले शव व्यवस्थापन गरिरहेका थिए । ‘मलाई सहयोग गर्ने कोही थिएनन् । त्यसैले धेरै समय लाग्यो, अन्तिममा मलाई स्वाँस्वाँ भइरहेको थियो’, उनले सुनाए ।
डाक्टरले उनलाई उक्त शव एक महिनादेखि बेवारिसे रहेको र कोही पनि दाबी गर्न नआएको बताएका थिए । यो शवलाई प्याक गर्ने मानिसले आफ्नो काम राम्रोसँग नगरेको कारण एम्बुलेन्समा राख्ने बेलामा शवलाई ढाकेको कपडा खुस्कियो । जसबाट केही तरल पदार्थ जिउमा परेको चन्दले सुनाए ।यसरी केही रकम कमाउनुभन्दा पनि कम ब्याजदरमा केही ऋण लिएर काम केही गर्ने सोच चन्दको छ । उनले त्यसका लागि प्रयास पनि गरिरहेका छन् । चन्दको परिवार पनि उनको सुरक्षाको कारण चिन्तित छ । तर, उनीहरूलाई अहिलेको अवस्थामा घर धान्ने बाटो भनेकै चन्दको कमाइ हो भन्ने पनि राम्रोसँग थाहा छ ।आफ्ना अभिभावकले सबै आफ्नो दैनिक कामको बारेमा सोध्ने गरेको र आफ्नो सुरक्षाको लागि प्रार्थना गर्ने गरेको चन्दले बताए ।चन्द सधैं घर पुग्नासाथ नुहाउँछन् र आफ्ना परिवारका सदस्यहरूभन्दा केही पर नै बस्ने गरेका छन् ।‘मैले सबै किसिमको सावधानी अपनाएको छु, तर कसैलाई के हुन्छ भन्ने कुरा थाहा हुँदैन । अहिलेको लागि म केही सहयोग गर्न चाहन्छु, ताकि मेरा परिवार सुरक्षित रहून्’, उनले भने ।
स्रोत : द हिन्दु