वीरगंज। प्रधानमन्त्री केपी ओलीले नेपालीको रोग प्रतिरोधी क्षमता उदाहरणीय भएको दाबी पटक पटक दोहोर्याएका छन् ।तर, गरिबी, अभाव, अशिक्षा, बेरोजगारी, कुपोषणले नेपाली जनताको स्वास्थ्य अवस्था दयनीय भएको विश्वस्तरीय अध्ययनहरूले देखाएका छन् । नेपालको यो अवस्थामा सुधार गर्ने योजना ल्याउनुको सट्टा नेताहरूले जनतालाई भ्रमित बनाउँदै आएका छन् ।२८ जेठमा भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको दाबी गरेपछि पूर्व स्वास्थ्यमन्त्री गगन थापाले यो कुन विज्ञले भनेको हो भनेर प्रतिप्रश्न गरेका थिए । जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर एकजना माननीयले सोध्नु भयो, त्यो मैले भर्खरै भनेँ, सुन्नु भएन ?’
प्रधानमन्त्रीको यो जवाफपछि कतिपय सांसदले टेबुल ठोेकेका थिए । तर, नेपाली जनताले गरिबी र कुपोषणको कुन अवस्था सामना गरिरहेका छन्, स्वास्थ्यसेवामा उनीहरूको पहुँच के छ, पाँच वर्षमुनिका बालबालिका र आमाहरूको मृत्युदरमा नेपालको अवस्था के छ भन्ने विषयमा देशको प्रधानमन्त्रीले नै अध्ययन गरेको देखिएन, जनप्रतिनिधि सांसदले त टेबुल ठोकेर रमाउने प्रवृत्ति नै विकास भएको छ ।प्रधानमन्त्रीको भनाइ थियो, ‘डाक्टर, वैज्ञानिक वा शोधकर्ताबाट यो कुरा होइन भनेर चुनौती आयो भने मैले स्विकारुँला । आधा नेपाली पहाडी र हिमाली क्षेत्रमा बसेका छन्, स्वच्छ हावापानीमा बसेका छन्, स्टामिना बलियो छ । मरुभूमिबाट आएको तातो हावा पनि हिमालमा ठोक्किएपछि चिसो हुन्छ र त्यस्तो चिसो हावा पाएपछि नेपालीको प्रतिरोधी क्षमता बलियो हुन्छ ।’
रोग प्रतिरोधी क्षमता कति बलियो छ भनेर मापन गर्ने प्रमुख आधार औसत आयु हो । विश्व स्वास्थ्य संगठनका अनुसार औसत आयुको हिसाबमा नेपाल विश्वमा १२४ औं स्थानमा छ । नेपालको औसत आयु ७०.५ वर्ष छ ।जब कि हङकङको औसत आयु ८४.८ वर्ष, जापानको ८४.२ वर्ष, अमेरिकाको औसत आयु ७८.५ र चीनको ७६.४ वर्ष छ । सबैभन्दा कम औसत आयु भएको देश मध्य अफ्रिकी गणतन्त्र हो जसमा औसत आयु ५२.८ वर्ष छ । त्यस्तै अफ्रिकी देश लेसेथोको औसत आयु ५३.७ छ ।
गरिबीको चपेटामा परेका अफ्रिकी देशहरूको तुलनामा नेपालको औसत आयु केही राम्रो भए पनि औसत आयुको तुलनामा नेपाल १२४औं स्थानमा हुनुले यहाँका जनताको स्वास्थ्य अवस्था निक्कै प्रतिकूल छ भन्ने देखिन्छ ।नेपालभित्रको औसत आयुमा पनि हिमालको मुनि बस्ने नेपालीको आयु थोरै छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको ६८.८, मुस्ताङको ६५.०४, जुम्लाको ६३.१ छ । त्यस्तै हिमालको हावामा यार्चागुम्बा उम्रने डोल्पाका जनताको औसत आयु ६१.२ वर्ष छ ।
त्यस्तै विश्वमा बढी कुपोषण हुने मुलुकमध्ये नेपाल ६८औं स्थानमा छ । स्वस्थ खानेकुरा नपाएर पर्याप्त मानसिक र शारीरिक अवस्था विकास नहुने अवस्थालाई कुपोषण भनिन्छ । कुपोषणमा मध्य अफ्रिकी गणतन्त्र १ नम्बरमा र जिम्बाबे दोस्रो नम्बरमा छ । भारत ४२औं नम्बरमा र नेपाल ६८ औं नम्बरमा छ ।भोकमरी हुने विश्वका एक सय १७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ । यो सूचीमा उरुग्वे पहिलो नम्बरमा छ भने भारत १०२ औं स्थानमा छ । त्यस्तै, अफगानिस्तान १०८ औं, चाँद ११५ औं र यमन ११६ औं स्थानमा छन् ।
प्रधानमन्त्रीले हाछ्युँ गरेर कोरोनालाई भगाउनुपर्छ भन्ने अभिव्यक्ति दिए । कोरोना फोक्सोसम्बन्धी रोग हो । फोक्सोसम्बन्धी रोग लागेर मृत्यु हुने देशमध्ये नेपाल विश्वमै तेस्रो नम्बरमा पर्छ । पहिलो नम्बरमा उत्तर कोरिया, दोस्रोमा भारत र तेस्रोमा नेपाल छ ।फोक्सोसम्बन्धी रोगबाट नेपालमा बर्सेनि करिब १४ हजार मानिसको मृत्यु हुन्छ । यसमा इन्फ्लुएन्जा र निमोनियाबाट हुने मृत्युलाई समेत जोड्दा त्यो संख्या २३ हजार पाँच सय ६५ हुन्छ । फोक्सोको रोग र निमोनियासमेतले प्रतिलाख नेपालीमा एक सय २४ जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।
नेपालमा झाडापखाला रोग रोक्ने पर्याप्त सरसफाइ र रोग लागेपछि तुरुन्त पाइने औषधिको पनि अभाव छ । नेपालमा भाडापखालाबाट वर्षमा नौ हजार आठ सय ३४ को मृत्यु हुन्छ ।त्यस्तै, बाल मृत्युदर, मातृ मृत्युदर र कुपोषणदरलगायत तथ्यांकमा पनि नेपालको अवस्था कमजोर छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्यु हुने देशहरूको गणनामा नेपाल ६० औं स्थानमा छ । नेपालमा एक हजारमा ३२ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ ।अझ सुत्केरी महिलाको मृत्युको मापदण्डमा नेपालको अवस्था भयावह छ । एक लाख जीवित बच्चा जन्माउने आमाहरूमध्ये एक सय ८६ को मृत्यु हुन्छ । यस हिसाबले नेपालको मातृमृत्युमा नेपाल ४७ औं स्थानमा पर्छ । रक्तस्राव रोक्ने मिसोप्रोस्टोल जस्तो आधारभूत औषधिको अभावमा अहिले पनि सुत्केरीहरूको मृत्यु भइरहेको छ ।
देश चालू आर्थिक वर्षको अन्तिम महिनामा प्रवेश गरिसकेको छ । तर, आर्थिक वर्षको ११ महिनासम्म सुत्केरीको रक्तस्राव रोक्ने औषधि किन्न विनियोजित बजेट सातै प्रदेशमा अहिलेसम्म खर्च भएको छैन ।त्यसैले यस वर्ष यो औषधि सरकारले नकिन्ने निश्चित भएको छ । १६ जिल्लामा एक एनजिओले दिएको औषधिले काम चलाइएको छ भने ६१ जिल्लामा यो औषधि छैन । तर, रक्तस्राव रोक्ने औषधि नपाएर महिलाले ज्यान गुमाइरहेको समाचार आइरहेको देशको प्रधानमन्त्रीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको दाबी दोहोर्याउँदै आएका छन् ।
नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियोबारे प्रधानमन्त्रीका तर्क
सरकारले पर्याप्त समय पाएर पनि क्वारेन्टाइन र आइसोलेसनको अवस्था सुधार गरेको छैन । पर्याप्त पूर्वाधार र जनशक्ति नभएकाले संकलित नमुना प्रयोगशालामा थन्किएका छन् ।तर, यी सबको जिम्मेवारी लिएर सुधार गर्नुको सट्टा प्रधानमन्त्री केपी ओलीले नेपालीको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) धेरै रहेको भन्दै आफ्नो दायित्वबाट विमुख हुने प्रयास गरिरहेका छन् । पछिल्लो एक महिनामा एकप टक देशवासीका नाममा सम्बोधन गर्दै तथा तीन पटक संसद्मा बोल्दै उनले नेपालीको प्रतिरोधात्मक क्षमतामाथि मात्र बोलेका छन् ।
पछिल्लो पटक प्रधानमन्त्री ओलीले बिहीबार नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दाबी गरेका थिए । ‘नेपालीमा इम्युन सिस्टम धेरै राम्रो छ भनेर मैले धेरैपल्ट भनेको छु । कतिपयले इम्युन सिस्टम बुझेका छैनन् ।नेपालीहरूमा असाधारण इम्युन सिस्टम छ । एकाध उस्तै कमजोर भएका मान्छेहरूलाई मात्रै खतरा हुन सक्छ । नत्र साधारणतया नेपालीहरूमा जुन इम्युन सिस्टम छ, त्यसले कोरोना लागे पनि लगिहाल्न सक्दैन,’ ओलीले राष्ट्रिय सभामा सम्बोधनमा भने ।रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले नै कोरोनाबाट नेपालमा धेरैको मृत्यु नभएको उनको तर्क थियो । जसले गर्दा एक हजार एक सय ६७ जना कोरोनाबाट निको भएर घर फर्केको उनको भनाइ थियो ।
‘उच्च मनोबल राख्नुपर्छ । कोरोना लागिहाल्यो भने पनि लान सक्दैन । कोरोनाले छोयो भन्ने बित्तिकै अब मर्छु, अब गएँ भन्ठान्यो भने बाँच्न गाह्रो हुन्छ । कोरोना भनेको रुघाखोकी जस्तै हो । लागिहाल्यो भने हाच्छिउँ–साच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइ दिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
२
८ जेठमा प्रधानमन्त्रीले नेपालीको प्रतिरोधात्मक क्षमता बलियो भएको चर्चा गरेका थिए । प्रधानमन्त्रीको दाबीपछि पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपालीको प्रतिरोधात्मक क्षमता धेरै छ भनेर कसले भन्यो ? भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘एक जना माननीय ज्यूले प्रश्न गर्नु भएको छ– नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो भनेर कसले भनेको ? भर्खंरै मैले भनेको सुन्नु भएन ?’
यो प्रसंगलाई अझै लम्ब्याएका थिए, ‘नेपालीको प्रतिरोध क्षमता बढी छ । आधा नेपाली स्वच्छ हिमाली र पहाडी भेगमा बसेका छन् र त्यहाँ स्टामिना छ । तराईमा बस्नेले पनि, मरुभूमिबाट आएको तातो हावा, हिमालबाट ठोक्किएर बरफ भई आएको स्वच्छ हावापानी पाउँछन् ।
ढुंगाबाट शिलाजित निस्किन्छ,’ उनको भनाइ थियो, ‘जडीबुटी र औषधिको देश हो यो । पानी हिउँबाट, हिमालमाथि बसेर पग्लेर अनेक मिनिरल तत्वसँग खेल्दै रसाएर निस्केर आउँछ । त्यसैले नेपाली निरोगी छन् ।’
त्यसअगाडि प्रधानमन्त्री ओलीले १२ जेठमा नेपालीमा रहेको रोग प्रतिरोधात्मक क्षमता र अनुशासनले भाइरसविरुद्धको लडाइँ लम्बिने निश्चित भए पनि सहजै पराजित गर्ने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपाल निर्माण अभियानलाई सरकारले मूल स्वास्थ्य नीति बनाएको भन्दै रोग प्रतिरोधात्मक क्षमता बढाउने गरी त्यसका लागि पाँच काम गर्न आमजनतालाई अपिल गरेका थिए ।’
अपिलमा थियो, ‘त्यसका लागि पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं । दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं ।
शारीरिक र श्वासप्रश्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँँ,’ प्रधानमन्त्रीले भनाइ थियो, ‘तेस्रो, भाइरस फोहोरमा रमाउँछ, आफ्नो शरीर र वासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ । चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ । पाँचौं, उच्च मनोबल कायम राखौं ।’
६ जेठमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीमा रहेको रोग प्रतिरोधात्मक क्षमताको व्याख्या गरेका थिए । त्यसवेला उनले कोरोना नियन्त्रणमा सरकार प्रयासरत रहेको भन्दै अहिले कोरोनाको सूचीमा परेकाहरूको मृत्यु अन्य कारणले भएका पनि बताएका थिए । नयाँ पत्रिका दैनिकबाट