काठमाडौं । सरकारले आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकले विदामा आएकाहरुलाई रोजगारीमा जान दिने निर्णय गरेको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।सरकारले ३० फागुनदेखि श्रम स्वीकृति बन्द गरेको थियो । बैदेशिक रोजगारीमा रहेकाहरु विदामा घर आएका बेला नेपालमै रोकिएका छन् । उनीहरुले लामो समयदेखि विदेश जाने अनुमति मागिरहेका थिए ।
अब अहिले विदामा आएका र करार अवधि बाँकी रहेकाहरुलाई पठाउन मात्रै श्रम स्वीकृति दिने निर्णय भएको छ ।विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ । परराष्ट्रमन्त्री ज्ञावालीले भ्रमणमा गरेको कडाइ मात्रै खुला गरिएको बताए ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहलले सीसीएसीको निर्णय विभागमा आइनपुगेको बताए । निर्णय आएपछि मात्रै आइतबारबाट श्रम स्वीकृति कसलाई कसरी दिने भन्ने प्रष्ट हुने बताए ।बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थनापनको जिम्मा पनि श्रमलाई दिइएको छ ।
संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत भएको छ ।बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।स्थानीय तहमा आइसोलेसन र क्वारेन्टाइन निर्माणका लागि केन्द्रीय कोभिड-१९ कोषबाट ३५ करोड रुपैयाँ उपलब्ध निर्णय गरेको छ ।सीसीएमसी बैठकले अत्यावश्यक काम बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि अपील गरेको छ ।