काठमाडौं | हिमाली जिल्ला मनाङ पहिलोपटक कोरोना संक्रमण फेला परेपछि लमजुङको होल सिल गरिएको छ ।कपिलवस्तुको वाणगंगा १४ स्थायी ठेगाना भइ मनाङको चामेमा कार्यरत ५७ वर्षीय एकजना कर्मचारीमा बिहीबार कोरोना पोजेटिभ देखिएको हो ।ती कर्मचारी कपिलवस्तुबाट उनी जेठ २० लमजुङको बेंसीसहरस्थित पुष्पाञ्जली होटलमा बसेका थिए भने त्यहाँबाट जेठ २१ गते मनाङ पुगेका थिए ।बिहीबार सो होटल सिल गरी सञ्चालकसहित ४ जनाको थ्रोट स्वाब संकलन गरी पोखरा पठाइएको छ ।
संक्रमित व्यक्ति बेंसीसहरबाट मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित एक होटलमा खाना खाएका थिए। सो होटल पनि सिल गरी सञ्चालकको थ्रोट स्वाब लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।चामेस्थित लोकप्रिय माविको क्वारेन्टाइनमा बसेका उनको जेठ २७ गते थ्रोट स्वाब लिइएको थियो । बिहीबार बिहान उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्याका अनुसार उनलाई जिल्ला अस्पताल चामेको आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।