कैलाली । बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए ।
बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए ।बडुवालका अनुसार शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।‘आर्थिक अवस्था निकै कमजोर थियो,’ बडुवालले भने ‘गरिबीकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छौँ । तर, यकिन कारण अझै खुलेको छैन ।’
आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराइले बताए । ‘आत्महत्या भए पनि कोरोना हुन सक्छ भन्ने आशंकामा हामीले पुरै प्रकृया पूरा गरेर शवको व्यवस्थापन गरेका थियौं, ’ उनले भने, ‘कोरोना पुष्टि नहुँदै पनि कुनै लापरवाही गरेनौं ।’ उनको शव व्यवस्थापनमा उनका २ जना आफन्त नै खटिएका थिए ।बिगत २४ वर्षदेखि भारत बस्दै आएका उनी श्रीमती र छोराछोरीसँगै नेपाल फर्किएका थिए । अहिले उनको परिवारका सदस्यहरु क्वारेन्टिनमै बसिरहेका छन् ।