वीरगञ्ज | प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताएका छन्। देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गरेका छन्।
नेपाल स्काउटको ६९आौं स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै ओलीले विपद् व्यवस्थापन कार्यका लागि समेत स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा ‘फस्ट रेस्पोन्डर’को रूपमा परिचालित गरिने बताए। नेपाल स्काउटमा आबद्ध अनुशासित नयाँ पुस्ताका प्रयासले जीवनमय र उर्वर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने अपेक्षा ओलिको विश्वास छ।
विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । बालबालिका तथा युवामा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भावनाको विकास गराई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यसाथ सन् १९०७ बाट विश्वमा स्काउट अभियान सुरु भएको हो। नेपालमा विक्रम संवत् २००९ मा स्काउट अभियानको सुरुवात भएको थियो ।