पोखरा | गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा आज मात्रै संक्रमण पुष्टि हुनेको संख्या ७७ पुगेको छ ।यसअघि बिहान ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।
बिहीबार थपिएका ३० जना संक्रमितहरुमध्ये नवलपरासी पूर्वका १३, स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, वाग्लुङका १ जना रहेको कोरोना रोगथाम तथा नियन्त्रण गण्डकीका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।संक्रमित सबैजना भारतबाट फर्किएको र सबैलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको उनले बताए । उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले जानकारी दिए ।
यसअघि आजै बिहान नवलपरासी पूर्वमा १८, तनहुँमा १२, गोरखामा ११, मनाङमा १ जनामा संक्रमण पुष्टि भएको थियो ।