वीरगंज | कोरोना भाइरसले महामारीको रूप लिएको ६ महिना बित्दा पनि यसबारे आधारभूत जानकारी मात्र पत्ता लागेका छन् । संक्रमण नियन्त्रणबाहिर रहनुको मुख्य कारण नै भाइरससम्बन्धी धेरै तथ्यबारे वैज्ञानिकहरू अनभिज्ञ रहनु हो ।
-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ८ जुनमा सार्वजनिक गरेको विवरणअनुसार एसिम्टोम्याटिक अर्थात् लक्षण नदेखिएका बिरामीबाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावना दुर्लभ हो ।
-डब्लुएचओका अनुसार लक्षण देखिएका व्यक्तिबाटै अन्यमा संक्रमण बढी फैलिएको पाइएको छ । कोभिड–१९ बारे अनुसन्धानरत केही संस्थाले भने २५ देखि ४५ प्रतिशत संक्रमितमा कुनै पनि लक्षण नदेखिने बताएका छन् । त्यसैले एसिम्टोम्याटिक संक्रमणका कारण दोस्रो लहर फैलिने चिन्तामा विज्ञहरू देखिन्छन् ।
-जनस्वास्थ्यविज्ञहरूले लक्षण नदेखिएका बिरामीलाई दुई भागमा विभाजन गरेका छन्, एसिम्टोम्याटिक र प्रि–सिम्टोम्याटिक । लक्षण नदेखिएका र भाइरस सार्ने दुलर्भ सम्भावना भएका संक्रमित एसिम्टोम्याटिक हुन् । संक्रमितमा लक्षण नदेखिए पनि अन्य व्यक्तिमा भाइरस सर्ने सम्भावना रहेका संक्रमित प्रि–सिम्टोम्याटिक हुन्।
-प्रि–सिम्टोम्याटिक संक्रमितमा करिब १४ दिनको अन्तरालमा लक्षण देखिन्छन् ।
-अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले करिब ३५ प्रतिशत एसिम्टोम्याटिक र ४० प्रतिशत प्रि–सिम्टोम्याटिक संक्रमित हुन सक्ने अनुमान गरेको छ ।
-दुवैमा सुरुमा लक्षण नदेखिने भएकाले विनापरीक्षण छुट्याउन सकिँदैन । पोलिमरेज चेन रियाक्सन (पिसिआर) विधिबाट मात्र यी दुई संक्रमण यकिन गर्न सकिन्छ । पिसिआर परीक्षणले भाइरसको जेनेटिक जानकारी दिन्छ ।
-प्रि–सिम्टोम्याटिक संक्रमितमा लक्षण देखिनुअघि नै अरूमा भाइरस सर्न सक्ने जोखिम हुन्छ । त्यसैले हो, अस्पतालमा अन्य रोगको उपचार गराइरहेका व्यक्तिको पनि पिसिआर परीक्षणमा जोड दिइएको पनि । किनकि, प्रि–सिम्टोम्याटिक संक्रमितबाट चिकित्सक र नर्समा पनि भाइरस सर्ने जोखिम हुन्छ ।