रौतहट। कोरोनाको केन्द्र बन्दै गइरहेको रौतहटमा कोरोना संक्रमण जितेर थप ७ जना घर फर्किएका छन् । योसँगै कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा १ सय ९ पुगेको छ ।
जिल्लाको चन्द्रपुर नगरपलिका वडा नम्बर ६ मा अवस्थित एन्फा महिला एकेडेमीको भवनमा रहेको अस्थायी आइसोलेसनमा उपचाररत जिल्लाका गढीमाई नगरपालिकाका पाँचजना र गुजरा नगरपालिकाका दुईजना गरी सात जनामा पछिल्लो पीसीआर रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले जानकारी दिनुभयो ।
उहाँले कोरोना संक्रमितहरुलाई उपचार र निगरानी पश्चात निको पारेर घर पठाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले आइसोलेसनमा बसुन्जेल उनीहरुमा कुनैपनि स्वास्थ्य समस्या नआएको भन्दै संक्रमितहरुलाई निको पारेर घर पठाउँदाको खुसी शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । कोरोनामुक्त भएकाहरुलाई लिन सम्बन्धित पालिकाका प्रतिनिधिहरु आफै पुगेका थिए ।
संक्रमितहरुलाई गढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले अबिर र माला लगाएर बधाई दिदैँ अब समुदायमा गएर कोरोना योद्धा बनेर कोरोना बारेमा जनचेतना जगाउन आग्रह गर्नुभएको थियो ।
कोरोना संक्रमण मुक्त भएर घर फर्किएकाहरुले अब आफुहरु समाजमा कोरोनाको बारेमा जनचेतना जगाउनतर्फ लाग्ने बताउँदै आइसोलेसनमा रहँदा स्वास्थ्यकर्मीको सहयोग , निर्देशन र उपचार अनि आफुहरुको उच्च मनोवलले कोरोनालाई पराजित गर्न सफल भएको बताए । उनीहरुले आइसोलेसनमा २० दिन बस्नुपरेको थियो ।