• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    डब्ल्यूएचओ नेपाल प्रमुख भन्छन् : क्वारेन्टिन सुधार नै उपयुक्त विकल्प हो

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार १२:४६
  • ३४९३

    सिङ्गो संसार नै कोभिड-१९ महामारीसँग जुधिरहँदा संयुक्त राष्ट्र सङ्घअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठन -डब्लुएचओ)ले आफ्ना सदस्य राष्ट्रका सरकारहरूले महामारी सामना रणनीतिलाई अझ सशक्त बनाउनुपर्ने बताउँदै आएको छ । नेपाल सरकारले पनि डब्ल्यूएचओसँग सम्पर्कमै रहेर आफ्नो कामलाई अगाडि बढाइरहेको छ । पछिल्ला दिनहरूमा नेपालमा सरकारको कोभिड-१९ परीक्षण प्रणाली गतिलो र प्रभावकारी नभएकोलगायतका मुद्दा उठाउँदै देशव्यापी आन्दोलन पनि सुरु भएको छ । उनीहरू मात्र होइन, विज्ञहरूले समेत सरकारले केही दिन अगाडि संशोधन गरेको परीक्षण निर्देशिकाबारे प्रश्न उठाएका छन् । यस विषयमा डब्ल्यूएचओले पनि सार्वजनिक रूपमा मुख खोलेको छैन ।

    अनलाइनखबरसँगको अन्तर्वार्ताका क्रममा नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. जोस भान्देलारले पनि सरकारको खासै आलोचना गरेनन् । परीक्षण नीतिमा नेपालले गरेको परिवर्तनका पछाडि खास कारण रहेको बताउँदै उनले भाइरसलाई अझ फैलन नदिनका लागि आम मानिस पनि उत्तिकै जिम्मेवार रहनुपर्ने सुझाव दिए ।

    प्रस्तुत छ, भान्देलारसँग अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले गरेको कुाकानीको सम्पादित अंश :

    व्यक्तिगत कुराबाट हाम्रो संवाद सुरु गरौँ । एक जना विदेशी नागरिकका रूपमा काठमाडौं बस्दा अहिले तपाईँलाई कस्तो महसुस भइरहेको छ ?

    म नेपाल बस्न थालेको पाँच वर्ष भयो, तर पछिल्ला महिनाहरूमा यस महामारीका कारण सबै थोक बदलिएको छ । नेपालले मलाई न्यानो स्वागत दिएको थियो र म रमाइरहेकै थिएँ । तर अचेल मान्छेहरू यस नयाँ रोगसँग डराएका छन् । त्यसैले मेरो अनुभव पनि बदलिएको छ । लकडाउनका कारण पनि धेरै कुरा बदलिएका छन् ।

    अहिले नेपालबाहेक अन्य कुनै देशमा भएको भए आफ्नो जीवन केही फरक हुन्थ्योजस्तो लाग्छ ?

    महामारीले फरकफरक देशमा फरकफरक अवस्था सिर्जना गरेको छ । धेरै देशहरूमा लकडाउन लागु गरिएको छ, तर कार्यान्वयनका तरिकाहरू भिन्न छन् । लकडाउनप्रति मान्छेका धारणा र व्यवहार पनि भिन्न छन् । महामारी आफैँ फरकफरक देशमा फरकफरक तहमा छ । त्यसैले स्वाभाविक रूपमा म अन्यत्र भएको भए भिन्न अवस्थामा हुन्थेँ ।

    नेपालमा कोभिड-१९को नियन्त्रणमा भएका प्रयासहरूलाई कसरी हेर्नुभएको छ । नेपालको सामना रणनीतिका सबल र दुर्बल पक्ष, अनि अवसर र चुनौतीहरू के-के होलान् ?

    नेपालमा सङ्क्रमणको पहिलो घटना जनवरीमै देखियो, तर त्यसपछि दुई महिनासम्म सङ्क्रमण देखिएन । मार्चको अन्त्यतिर दोस्रो घटना बाहिर आयो, अनि त्यस लगत्तै लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि पनि समुदायको स्तरमा सङ्क्रमण खासै फैलिएन । विशेषतः भारतबाट एकदमै धेरै मानिस फर्किए, र उनीहरूलाई क्वारेन्टिनमा राखियो । तर तीमध्ये धेरैमा सङ्क्रमण देखियो । आजसम्म जति मानिसमा सङ्क्रमण फैलिएको पुष्टि भएको छ, त्यो सरकारको परीक्षण रणनीतिकै कारण हो ।

    नेपालको अवस्था विशिष्ट छ । अन्य देशहरूमा लक्षण देखिने मानिसहरूको परीक्षण गरियो । नेपालमा त्यसो गर्नु सम्भव भएन किनकि यहाँ लक्षण भएका मानिस खासै धेरै छैनन् । आजसम्म सङ्क्रमण पुष्टि भएका जति मानिस छन्, प्रायः ती सधै पूर्ण स्वस्थ देखिन्छन् । त्यसैले सरकारले पनि लक्षण देखिनेहरूलाई भन्दा उच्च जोखिममा रहनेहरूको परीक्षण गर्न थाल्यो । विशेषगरी भारतबाट र्फकनेहरूको परीक्षण बढाइयो, त्यसैले नै उनीहरूमा बढी सङ्क्रमण देखियो । मलाई लाग्छ सरकारको रणनीतिले काम गरेको छ । त्यसैले अझैसम्म समुदायको स्तरमा सङ्क्रमण फैलन पाएको छैन । अब समुदायमा सङ्क्रमण फैलँदैन भनेको होइन, तर आजसम्म छैन ।

    तर छोटो समयमा धेरै मान्छेहरू भित्रनु आफैँमा समस्या भयो । आपसमा दुरी कायम गर्न सकिने गरी उनीहरूलाई क्वारेन्टिनमा राख्न कठिन भयो । क्वारेन्टिनमा सामान्य अवस्था सुनिश्चित गर्न पनि गाह्रो भयो ।

    सरकारी नीतिले काम गरेको छ भन्नुभयो, तर धेरै विज्ञहरू र सर्वसाधारणले पनि पछिल्लो संशोधनको विरोध गरेका छन् । क्वारेन्टिनमा राखिएका सबैको परीक्षण नगर्ने हो भने समुदायमा सङ्क्रमण फैलने बाटो खुल्छ भन्ने उनीहरूको मत छ । तपाईँलाई नेपाल उल्टो बाटोमा हिँडेजस्तो लाग्दैन ?

    नेपाल उल्टो बाटोमा हिँडेको होइन, आफ्नो रणनीति बदलेको मात्र हो । त्यसका पछाडि उचित कारण पनि छ । धेरै मानिस आइरहँदा तपाईँलाई सबैको परीक्षण गर्न मन लाग्यो, त्यो पनि क्वारेन्टिनमा बस्ने बेला, अनि दुई हप्तापछि पठाउने बेला गरेर दुई पटक भने तपाइँले एकदमै धेरै परीक्षण गर्नुपर्छ । तर हामीलाई थाहा छ नेपालको परीक्षण क्षमता आफैँमा सानो छ र यसले त्यति धेरै परीक्षण थेग्न सक्दैन । क्षमता बढ्दै छ, तर पनि एकै पटक हजारौँको परीक्षण गर्नु सम्भव देखिँदैन ।

    सँगसँगै हामीलाई थाहा छ, विश्वभरि नै परीक्षणका लागि आवश्यक सामग्रीको उपलब्धता सीमित भएको छ । तपाईँ आफूले चाहेजति पीसीआर टेस्ट किट माग गर्ने अवस्थामा हुनुहुन्न । तपाईँ आफूले चाहेजति सबै कुरा पाउन सक्नु हुन्न ।

    त्यसैले लक्षण भएका मानिसहरूमा केन्दि्रत हुने नयाँ रणनीति उचित छ । यसले व्यवहारिक दृष्टिकोण लिएको छ: हामीसँग अहिले जेजति स्रोतसाधन छ, त्यसले भ्याउने गरी जजसलाई सकिन्छ परीक्षण गर्दै जाऔँ भन्ने सोचेजस्तो देखिन्छ ।

    तर यहाँ अर्को महत्वपूर्ण कुरा छुटाउनु हुँदैन । त्यो के भने भारतबाट आउने सबैलाई क्वारेन्टिनमा भने राख्नैपर्छ । सबैलाई क्वारेन्टिनमा राखिनुपर्छ र क्वारेन्टिनमा आवश्यक मापदण्डहरूको पालना गरिनुपर्छ ता कि त्यहाँ एकअर्कामा सङ्क्रमण नफैलियोस् । उच्च गुणस्तरको क्वारेन्टिन सुविधा तथा क्वारेन्टिन अवधिमा परीक्षणको सङ्ख्या घटाउने रणनीति सँगसँगै जानुपर्छ ।

    तर पनि, यदि सङ्क्रमितहरू परीक्षणविना क्वारेन्टिनबाट घर पठाइए भने त समुदायमा सङ्क्रमण पुगिहाल्छ नि । होइन र ?

    एउटा दृष्टिकोणबाट तपाईँ त्यसरी पनि व्याख्या गर्न सक्नुहुन्छ । तर ती मान्छे सुरुमा सङ्क्रमित नै रहेछन् भने पनि दुई हप्ता क्वारेन्टिन बस्दा कुनै लक्षण नदेखाएको अवस्थामा भाइरस मरिसकेको हुन्छ ।  उनीहरूमा कुनै लक्षण देखिएको छैन भने परीक्षणविनै घर पठाउँदा पनि उनीहरूमा अब भाइरस बाँकी नरहेको तथा उनीहरूले अरूलाई सङ्क्रमण सार्न नसक्ने कुरा सुनिश्चित गर्न सक्नुहुन्छ ।

    लक्षण देखाउनेहरूको विषय छुट्टै भयो । उनीहरूलाई क्वारेन्टिनबाट बाहिर निकालेर परीक्षण गरिनुपर्छ र एक्लै (आइसोलेसनमा) राखिनुपर्छ । मलाई लाग्छ, यो अभ्यास अहिले पनि भइरहेको छ ।

    अर्को ध्यान दिनुपर्ने कुरा के हो भने क्वारेन्टिनमा फरकफरक समूहलाई मिसाइदिनु हुँदैन । मानौँ कि एउटा समूह पहिल्यैदेखि क्वारेन्टिनमा बसिरहेको छ, भोलि नयाँ समूह पनि देशभित्र आयो भने तपाईँले दुबै समूहलाई एकै ठाउँमा क्वारेन्टिनमा राख्न मिल्दैन । यसरी उचित तवरले क्वारेन्टिन व्यवस्थापन गर्ने हो भने लक्षण नहुने व्यक्तिमा दुई हप्तापछि भाइरस हुने सम्भावना एकदमै न्यून हुन्छ ।

    अर्थात्, तपाईँको विचारमा नेपालले अब परीक्षण बढाउने होइन कि क्वारेन्टिनको अवस्थामा सुधार ल्याउनुपर्छ ।

    हो । अबको कदम त्यही हुनुपर्छ भन्ने मलाई लाग्छ । यदि क्वारेन्टिन स्थल सुधारिएन भने आवश्यक पर्ने परीक्षणको मात्रा विचार गरेर, क्वारेन्टिनको बसाइलाई गुणस्तरीय बनाउनु नै तार्किक विकल्प हुन सक्छ ।

    क्वारेन्टिनको गुणस्तर कसरी कायम गर्न सकिएला त ?

    दुई हप्तासम्म बस्न सकिने अवस्थाको क्वारेन्टिन सुविधा आवश्यक पर्छ । विशेषतः दुई ओछ्यानबिचमा पर्याप्त दूरी हुनुपर्छ भने यताउति हिँड्दा पनि आवश्यक भौतिक दूरी कायम हुने कुरा सुनिश्चित गर्नुपर्छ । क्वारेन्टिल स्थलहरूमा धेरै मान्छे हुने हुनाले पक्कै पनि सबैले मास्क लगाउनुपर्छ । खाना तथा पानीको वितरण, उचित सरसफाइको व्यवस्था, हात धुने सामग्री तथा ठाउँको उलब्धता एवं कोही बिरामी भए तत्काल उपचार गर्न सकिने गरी चिकित्सकीय सुपरिवेक्षण हुनु पनि महत्वपूर्ण छ ।

    तर तपाईँलाई नेपालको अप्ठ्यारो पनि थाहा छ । हजारौँ मान्छे भित्रिएका छन्, तर सरकारसँग सबैलाई तपाइँले भने जसरी क्वारेन्टिनमा राख्ने पैसा नै छैन । देशको आर्थिक अवस्था र स्वस्थ क्वारेन्टिनको आवश्यकताबिचमा सन्तुलन कायम गर्न के गर्नुपर्ला ?

    यस्तो सन्तुलन कठिन छ भन्ने मलाई पनि थाहा छ, तर यसको समाधान के होला भनेर भन्न सक्ने अवस्थामा भने छैन । यो जनस्वास्थ्यको विषयमा मात्र भएन । तर पनि म के भन्न सक्छु भने अब हामीले क्वारेन्टिनमा राख्नुपर्ने मानिसको सङ्ख्या र क्वारेन्टिनका लागि उपलब्ध ओछ्यान (बेड)को सङ्ख्यालाई कसरी सन्तुलित बनाउने भनेर सोच्नैपर्छ, जुन अहिले पनि सम्भव छ । यदि -क्षमताभन्दा) धेरै मान्छे भए भने स्वाभाविक हो कि तपाईँ सबैलाई आवश्यक गुणस्तर सहितको क्वारेन्टिन सुविधा दिन सक्नुहुन्न ।

    समग्रमा, नेपाल र नेपाली जनताले हालसम्म कोभिड-१९को सामनाका लागि अपनाएका उपायमध्ये तीन ओटा राम्रा कुरा र तीन ओटा गल्ती पहिल्याउनुपर्‍यो भने केके भन्नुहुन्छ ?

    प्रथमतः सरकारले जहाँ जोखिम महसुस गर्‍यो, त्यहाँ छिट्टै परीक्षण सुरु गर्‍यो । सुरुमा केही समुदायमा परीक्षण गर्‍यो र पछि भारतबाट र्फकने नागरिकमा केन्दि्रत भयो । परीक्षण क्षमता पनि बिस्तारै बढाउँदै लग्यो । सुरुसुरुमा परीक्षण क्षमता कमजोर भएपनि समय बित्दै जाँदा यो बढेकै छ ।

    दोस्रो कुरा, लकडाउनले पनि रोगको विस्तारलाई रोक्न सहयोग गरेको छ । हो, हामी सबैले दुःख पायौँ, कोहीकोहीले आफ्नो आय नै गुमायौँ र अझ धेरै दुःख पायौँ । तर पनि सङ्क्रमण विस्तारको जुन (सुस्त) गति छ, त्यसमा लकडाउनको पनि योगदान छ ।

    तेस्रो कुरा, लकडाउनको अवधिमै सरकारले केही तयारी गरेको छ । केही कोभिड-१९ अस्पतालहरू बनेका छन्, स्वास्थ्यकर्मीलाई पीपीई र अन्य सामग्री उपलब्ध गराइएको छ र अस्पतालका कर्मचारीलाई तालिम दिइएको छ ।

    कमजोरीको पाटो हेर्नुपर्दा, मानिसहरूलाई अझै पनि भौतिक दूरी भनेको के हो थाहा छैन । यताउति हिँड्नुभयो भने थाहा पाउनुहुन्छ मान्छेहरू अझै समूहमा एकदमै नजिक भएर बसिरहेका वा हिँडिरहेका छन् । तर आफू बच्न र अरूलाई बचाउन तपाईँले आफ्नो योगदान त गर्नैपर्छ ।

    अर्को कुरा, जति गरिएको छ, त्योभन्दा धेरै गर्न सकिन्थ्यो । मलाई थाहा छ, यसकै विषयमा धेरै आलोचना भइरहेको छ । तर नेपाल कुनै धनी देश होइन भन्ने हामीले बुझ्नुपर्छ । नेपालले जे गर्न सक्छ, त्यो निश्चय नै अन्य कुनै धनी देशको क्षमतासँग दाँज्न मिल्दैन । त्यसैले समस्याको सम्बोधन अझ छिटो हुनुपथ्र्यो भन्न त सकिन्छ, तर पनि केही तयारी भएको छ र केही हुँदैछ भन्ने विचार गर्नुपर्छ । मेरो आशा छ सबै कुरामा विस्तारै सुधार हुनेछ र सबै सङ्क्रमितका लागि पर्याप्त क्षमता हुनेछ ।

    भाइरसको महामारीसँगै संसारभरि गलत सूचनाको महामारी आएको छ भनिन्छ र नेपालमा पनि त्यसको प्रभाव छ । कतिपय मानिसहरू नेपालीको प्रतिरोधी क्षमता बढी भएको तर्क गर्छन् । यसले गर्दा पनि सङ्कटमा केही प्रभाव परेको होला नि ?

    सञ्चार परिदृश्यमा आएको परिवर्तनसँगै गलत सूचना सम्प्रेषण सुरु भएको हो । हाम्रो जीवनमा सामाजिक सञ्जालले पहिलेको भन्दा आज धेरै भूमिका खेल्छन् र परम्परागत सञ्चार माध्यम पनि नयाँ सन्दर्भ अनुसार आफूलाई बदल्दैछन् । अचेल जोसुकै पनि इन्टरनेटमा जे कुरा पनि राखिदिन सक्छ, कुनै प्रमाणबिना । यो सबै देशमा हुन्छ ।

    नेपालमा पनि हल्लाहरू छन् कि कोभिड-१९को उपचार छ, वा यहाँको भाइरस अन्यत्रको भन्दा फरक छ, वा मान्छेको क्षमता बढी छ । डब्लुएचओले विश्व स्तरमा फेसबुक लगायत यस्ता सूचना प्रदान गर्ने माध्यमहरूसँग सम्पर्क विस्तार गरेको छ ता कि गलत सूचना जाँच्न र तिनलाई हटाउन सकियोस् । त्यस बाहेक हामीले सामाजिक सञ्जालकै लागि भनेर प्रमाणिक सन्देशहरू निर्माण गरेका छौँ र कैयौँ स्वयंसेवकहरूले तिनलाई सम्प्रेषण गर्दै छन् ।

    यस सन्दर्भमा आगामी दिनमा नेपाललाई लक्षित गरी यहाँको कार्यालयले अझ सशक्त भूमिका निर्वाह गर्न सक्ला कि ?

    हामी यसका लागि हाम्रा साझेेदार निकायहरूसँग काम गर्छौँ । उनीहरूले सामाजिक सञ्जालको अनुगमन गर्छन् र गलत सूचना सम्प्रेषणलाई कम गर्न आवश्यक काम गर्छन् ।

    सरकार, तपाईँहरू र सबैले प्रयास गर्दागर्दै नेपालमा सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दो छ । यो बढ्ने क्रम कहिलेसम्म जाला ? नेपाल सङ्क्रमण सर्वोच्च विन्दुमा कहिलेसम्म पुग्ला ?

    अहिल्यै भन्न सकिने कुरा होइन यो । नेपालमा सङ्क्रमण बढ्दो त छ, तर प्रायः सबै सङ्क्रमितहरू विदेशबाट आएकाहरू छन् । अर्थात् सरकारले भोलि नै विदेशबाट मान्छे आउने क्रम रोक्यो भने भोलि नै सङ्ख्या बढ्न रोकिन सक्छ । हामीले आजसम्म सामुदायिक सङ्क्रमणको पर्याप्त प्रमाण भेटेका छैनौँ ।

    तर कुनै न कुनै विन्दुमा सङ्क्रमण समुदायमा फैलिन्छ नै किनकि सबैतिर यस्तै भएको छ । आजसम्म सङ्क्रमण क्वारेन्टिन स्थलमा सीमित छ, भोलि समुदायमा फैलन्छ किनकि त्यहाँ पनि प्रतिरोधी क्षमता त छैन । त्यस बेला साँच्चै नै नेपालको सङ्क्रमण दर बढ्नेछ । त्यो कहिले आउला, कति टिक्ला, कति उचाइमा पुग्ला भन्ने चाहिँ अनुमान गर्न एकदमै गाह्रो छ ।

    यसभन्दा अगाडि तपाईँले युनिसेफमा, विशेष गरी बालबालिकाका लागि खोप कार्यक्रमका लागि,लामो समय काम गर्नुभयो । यो महामारीले बालबालिकामा कस्तो असर पार्ला ?

    अचेल हामी प्रायः सधैँ कोभिड-१९बारे मात्रै कुरा गर्छौँ । हाम्रो दिमाग नै यसैले भरिएको छ । तर मानिसहरूलाई अरू रोग पनि लागिरहेकै छन् र तिनको रोकथाम पनि निरन्तर हुनु आवश्यक छ । हामीले बुझेसम्म खोप कार्यक्रम लगायतका अत्यावश्यक सेवा नेपालमा निरन्तर चलिरहेकै छन् । तर पनि तिनको मात्रा भने घटेको छ ।

    नेपालको बालबालिका खोप कार्यक्रम सशक्त छ किनकि ९० प्रतिशतभन्दा बढी बालबालिकालाई यसले समेटेको छ । तर अहिलेको सन्दर्भमा मान्छेहरूको हिँडडुल बन्द छ, स्वास्थ्यकर्मी पनि उपलब्ध छैनन् र आमाबाबुलाई सङ्क्रमणको डर छ । त्यसैले खोप पाउने बालबालिकाको सङ्ख्या निश्चय नै घटेको छ । यदि यो महामारी लामो समयसम्म, अझ गहिरो रूपमा भयो भने यसले दादुरा लगायतका रोगहरू फैलने जोखिम बढाउँछ ।

    तर यदि महामारी लम्बिएन भने खोप कार्यक्रम तुरुन्त पुनस्र्थापित हुन सक्छ किनकि यो आफैँमा बलियो छ । संवत् २०७२को भूकम्पपछि पनि खोप कार्यक्रम अवरुद्ध भएको थियो, तर छिट्टै आफ्नो स्थानमा फर्कियो ।

    कोभिड-१९कै जोखिम चाहिँ बालबालिकामा कत्तिको छ ? प्रायः मानिसहरू बालबालिका र युवामा कम जोखिम रहेको बताउँछन् । तर नेपालमा चाहिँ युवामै बढी सङ्क्रमण छ ।

    नेपालको सन्दर्भमा यो स्वाभाविक छ । प्रायजसो सङ्क्रमितहरू भारतबाट फकिएका छन् र प्रायः भारत कामगर्न जाने भनेका १५देखि ४५ वर्षका युवा हुन् । यो कुनै नौलो कुरै भएन । तर यसलाई अरू देशसँग तुलना गर्नुभयो भने चाहिँ बुझ्न गाह्रै हुन्छ । यहाँ महिलामा पनि सङ्क्रमण कम छ किनकि कमै मात्र महिला भारतमा काम गर्न गएका थिए ।

    युवामा बढी सङ्क्रण भएकै कारण नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको सङ्ख्या पनि तुलनात्मक कम छ ।

    सरकारले भर्खरै लकडाउन खुकुल्याएको छ । धेरैको डर के छ भने अब चाहिँ साँच्चि नै नेपालमा सङ्क्रमण तीव्र हुन्छ र समुदायमा फैलन्छ । यो डर कत्तिको जायज हो ? यसको समाधान के होला ?

    कोभिड-१९लाई नियन्त्रणमा राख्न लकडाउन लागू गरिएको थियो । मलाई लाग्छ आफ्नो उद्देश्यमा लकडाउन सफल पनि भयो । तर संसारभरि नै निश्चित अवधिका लागि मात्र लकडाउन लगाइन्छ किनकि यसले अर्थतन्त्रमा एकदमै ठूलो प्रभाव पार्छ । सङ्क्रमण जोखिम हुँदाहुँदै पनि, नेपालले पनि लकडाउन खुकुल्याउन आवश्यक थियो, खुकुल्यायो । अब यसलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा केही उपायहरू अवलम्बन गर्नु आवश्यक छ ।

    पहिलो त, लकडाउन एकै पटक पूर्ण रूपमा खुला गर्नु भएन । चरणबद्ध रूपमा गर्नुपर्छ । नेपाल सरकारले पनि त्यही गरिरहेको छ । आज पनि केही रोकतोक कायमै छ । मान्छेको हिँडडुल बढेको छ, काम तथा व्यवसाय सुरु भएका छन् । तर सबै खुलेको चाहिँ छैन । अझै हामी केही सानातिना काम गर्न सक्छौँ । जस्तै ः एउटा पसलमा एक पटकमा कति जना जान पाइन्छ भन्ने तोकौँ ।

    यो सरकार तथा नियामक निकायको कुरा भयो, व्यक्तिगत तहमा हामीले धेरै कुरा गर्न सक्छौँ । दूरी कायम गरौँ, मास्क लगाऔँ, नियमित हात धोऔँ । अनि, अरूलाई पर्ने गरी नखोकौँ, बिरामी पर्दा जँचाउन जाऔँ । तर मैले अघि पनि भनेँ कि नेपालमा यसलाई राम्रोसँग बुझिएको छैन । दूरी कायम गरिएको छैन भने कोहीकोही पूर्णतः मास्कमा भर परेका छन् । मास्क लगाएपछि ढुक्क भन्ने परेको छ, तर मास्क मात्र पर्याप्त छैन ।

    भन्नाले सङ्क्रमणले भोलि कुन बाटो लेला भन्ने निर्धारण गर्ने सरकारले होइन कि जनता आफैँले हो ?

    दुबै हो । मान्छेको व्यवहारले भाइरसको विस्तार कस्तो हुन्छ भन्ने कुरामा निश्चय नै भूमिका खेल्दछ । सरकारले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । परीक्षण गर्नुपर्छ, बिरामीको उपचार गर्नुपर्छ ।

    अन्त्यमा, डब्लुएचओ र अमेरिकी सरकारको सम्बन्ध बिगि्रँदा यसले नेपाल लगायतका देशमा तपाईँको सङ्गठनले गर्ने काममा असर पर्छ भन्ने अनुमान छ । के यसको असर नेपालसम्म आइपुग्ला ?

    यसको असर वास्तवमा के हुन्छ र कस्तो हुन्छ भन्ने विषयमा आजै कुरा गर्नु अलिक हतार हुन्छ । हाम्रो मुख्यालयले यस विषयमा अध्ययन गरिरहेको छ । यसै अन्तर्गत नेपालमा पर्ने असर पनि अध्ययन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑