कोरोनाभाइरसको भ्याक्सिन बन्ने बित्तिकै यसलाई पाउनका लागि युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्सले औषधी निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डले गरिरहेको छ ।शनिबार जर्मन सरकारले दिएको जानकारी अनसार यो सम्झौता अनुसार कम्पनीले भ्याक्सिन बनाउने बित्तिकै यसको ४० करोड डोज युरोपलाई दिनेछ । यो भ्याक्सिन युरोपेली संघका सदस्य देशलाई दिइनेछ ।
कम्पनीले भ्याक्सिन उत्पादन बढाउने कोसिस गरिरहेको जानकारी दिँदै कोरोना महामारी उन्मूलनका लागि भ्याक्सिन कुनै फाइदा बिना नै सप्लाई गर्ने बताएको छ ।कम्पनीका अनुसार यो वर्षको अन्त्य हुनु अघि नै यसको वितरण सुरु हुनेछ ।कम्पनीका मुख्य कार्यकारी अधिकारी पास्कल सोरियाले भनेका छन्, ‘यदि सबैकुरा सही हुँदै गए युरोपका करोडौं नागरिकले यो भ्याक्सिन पाउन सक्ने कुरा यसमार्फत् सुनिश्चित भएको छ । गर्मी महिनाको समाप्ति अगावै हामीलाई यसबारे थाहा हुनेछ ।’
पास्कल सोरियाका अनुसार भ्याक्सिन बनाउने बारे सम्बन्धित सुरुवाती डाटाको आधारमा यो प्रभावकारी हुने प्रमाणित हुनेछ ।यो अलायन्सले युरोपका सबै सदस्य देशसम्म भ्याक्सिन पुर्याउनका लागि युरोपेली कमिशनसँग मिलेर काम गरिरहेको पास्कल सोरियाले जानकारी दिए ।सम्झौता कतिमा डिल भयो यसबारे कुनै जानकारी प्राप्त छैन । यद्यपि, इटलीको स्वास्थ्य मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यो सम्झौताका लागि जर्मनी, फ्रान्स, इटल िर नेदरल्याण्डले रकम उपलब्ध गराउने भएको छ भने अन्य देश पनि यो अलायन्समा समावेश हुनसक्ने बताएको छ ।
कोरोनाभाइरसका लागि तत्कालका लागि कुनै भ्याक्सिन बनेको छैन । यस्तोमा यो भ्याक्सिन कति प्रभावकारी होला यसबारे हाल कुनै सटिक जानकारी छैन ।युरोपेली भ्याक्सिन अलायन्सअघि अमेरिकाले अस्त्राजेनेकासँग सम्झौता गरेको थियो । अमेरिकाले कम्पनीमा १.२ अर्ब डलर लगानी गर्नेछ र भ्याक्सिन बनेपछि उसले ३० करोड डोज पाउनेछ ।बेलायतको अक्सफोर्ड युनिभर्सिटीले कोरोनाभाइरसको भ्याक्सिनमा काम गरिरहेको छ यसको लाइसेन्स बेलायती कम्पनी अस्त्राजेनेकासँग छ । सुरुमा यो भ्याक्सिनको नाम – ChAdOx1 nCoV-19 थियो, अहिले AZD1222 राखिएको छ ।
अक्सफोर्ड युनिभर्सिटीले यसै वर्षको अप्रिललमा सयौं स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल सुरु गरेको थियो । अब करिब १० हजार स्वयंसेवकमाथि यसको ट्रायल जारी छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार पास्कल सोरियोका अनुसार भ्याक्सिनको प्रभावकारिता र यसको सुरक्षासम्बन्धि जोडिएको एक अध्ययनपछि ब्रिटिश मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले भ्याक्सिनको तृतीय चरणको ट्रायललाई मञ्जुरी दिएको छ ।
स्रोतः बीबीसी