वीरगंज | भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले नयाँ नक्सा प्रतिनिधिसभाबाट पारित गरेको जानकारी पाएको बताउँदै यसले वार्ताको वातावरण बिगार्ने उल्लेख गरेका छन्। ‘नयाँ नक्सा र नेपालको दावी केवल कृत्रिम विस्तार मात्रै हो’, उनले भनेका छन्, ‘यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।
यसले दुई देशबीच सीमाक्षेत्रका बाँकी मुद्दाहरूमा वार्ता गर्नु हाम्रो वर्तमान समझदारीको पनि उल्लंघन गरेको छ।’ नेपालको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित गरेकोबारेमा सञ्चारकर्मीहरुले सोधेका प्रश्नहरूको जवाफमा प्रवक्ता श्री अनुराग श्रीवास्तवले यसो भनेका हुन्। ‘हामीले नेपालको घटनाक्रममा नजर राखेका छौं। नेपालको प्रतिनिधि सभाले नक्सा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ’, उनले भनेका छन्, ‘जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ।
हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं।’ नेपालले यसअघि नै जेठ ७ मा भारतीय अतिक्रमणमा परेका तीनवटा भूभाग समेटेर नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने बताइसकेको छ। नेपालले प्रतिनिधिसभाबाट नयाँ नक्सा पारित गरेपछि भारतीय सञ्चारमाध्यमले भारतको वार्ता प्रस्तावलाई नेपालले अस्वीकार गरेको जिकिर पनि गरेका छन्।