धनगढी | डायलसिसका क्रममा सेती प्रादेशिक अस्पतामा शुक्रबार मृत्यु भएकी महिलाको स्थानीय मोहना नदीमा शुक्रबार नै दाहसंस्कार गरिएको थियो । तर, शनिबार उनमा कोरोना संक्रमण पुष्टि भयो ।
महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै मलामी जानेको खोजी शुरु भएको छ ।
धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो ।
उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगञ्ज र काठमाडौंमा डायलसिस गराउँदै आएको खुलेको छ ।
मृत्युपछि मात्रै स्वाब संकलन गरी परीक्षण गरिएको हो । ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलाली गएकाहरुको खोजी भइरहेको बताए ।
उनका अनुसार महिलाको दाहसंस्कारपछि कोरोना रिपोर्ट पोजेटिभ आएका हो ।
मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको छ । साथै मलामी गएका सबैको स्वाब परीक्षण गरिने प्रमुख धामीले बताए ।