राजविराज | आइसोलेसन वेड अभावमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका संक्रमित एक महिलासहित चारजनालाई क्वारेन्टाइनमै राखिएको छ । मंगलबार संक्रमित पुष्टि भएका चारजनालाई आइसोलेसन बेड नहुँदा छिन्नमस्ता गाउँपालिका-२ स्थित राप्रावि रम्पुराको क्वारेन्टाइनमा नै राखिएको स्वास्थ्य कार्यलय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
यादवका अनुसार एक सय ३ वेड रहेको राजविराजस्थित साइकृष्णा कलेज एण्ड मेडिकल हस्पिटलको आइसोलेसन सेन्टर भरिएकाले उनीहरुलाई तत्काल क्वारेन्टाइनमै होल्डिङ्ग गर्न लगाइएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणअनुसार छिन्नमस्ता गाउँपालिका ५, ६ र ७ नम्बर वडाका चार जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित हुनेमा २३ वर्षीया महिला तथा २२, २६ र ४३ वर्षीय पुरुष रहेको बरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले बताए ।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्रकुमार यादवका अनुसार छिन्नमस्ता गाउँपालिका-५ लोखरमका २२ वर्षीय पुरुष मुक्बइबाट, छिन्नमस्ता गाउँपालिका-६ कुपहीका २६ वर्षीय पुरुष र २३ वर्षीया महिला हरियाणाबाट जेठ ६ गते आएका हुन् । यस्तै छिन्नमस्ता गाउँपालिका- ७ हाटीका ४३ वर्षीय पुरुष हरियाणाबाट जेठ ४ गते आएका हुन् ।
यो समेत छिन्नमस्ता गाउँपालिकामा ९ जना संक्रमित भएका छन् भने जिल्लामा संक्रमितको सङ्ख्या १ सय ६ पुगेको छ । सप्तरी जिल्लामा हालसम्म बलान बिहुल गाउँपालिकामा २७ जना, बोदेबसाईन नगरपालिकामा २० जना,
राजगढ गाउँपालिकामा १३ जना, डाक्नेश्वरी नगरपालिकार र राजविराज नगरपालिकामा १२/१२ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ र कञ्चनरुप नगरपालिकामा २ जना संक्रमित भएका छन् । खडक, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर र तिरहुत गाउँपालिकाका १/१ जना कोरोना संक्रमित पुष्टि भएको छ । जसमध्ये पहिलो संक्रमित १ जना डिस्चार्ज भएका छन्।