वीरगंज | नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण थप १ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको छ।
स्याङ्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको हो। वालिङका ती ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।
उनी मृगौला, उच्च रक्तचाप, सुगरलगायतका बिरामी रहेको बुझिएको छ।भारतको दिल्लीमा बस्दै आएका ती व्यक्ति सुनौलीसम्म विभिन्न सवारी साधानमा आएका र सुनौलीबाट गाडी रिजर्भ गरी आएका वालिङ आएका थिए । सुनौलीबाट श्रीमान् श्रीमतीसँगै आएको वालिङ नगरपालिकाले जनाएको छ ।
सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले २१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ४८८ पुगेको छ।
प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्। सोमबार डिस्चार्ज हुनेमा महिला १ जना र पुरुष २० जना रहेका छन्।बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर घर फर्किएको प्रवक्ता
जागेश्वरले बताए।
सोमबार एकैदिन ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ३१४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३७ सय ६२ पुगेको हो। नयाँ संक्रमितमध्ये २९४ पुरुष र २० महिला छन्।
आइतबार मात्रै २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १०२ जना डिस्चार्ज भएका थिए।हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ९ सय ७१ र आरडीटी विधिबाट एक लाख ५६ हजार ९ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ६६ र आरडीटी विधिबाट ११ हजार ९४२ जनाको नमुना गरी १६ हजार ७०८ नमूना परीक्षण भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वरका अनुसार एक लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा छन् ।यस्तै आइसोलेसनमा ३ हजार २६० रहेका छन्। ७१ जिल्लामा संक्रमण फैलिएको छ।प्रयोगशालाको संख्या २१ पुगेको छ।