सन्धिखर्क | अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ जना महिला र २९ जना पुरुष रहेका छन् । एकजना बाहेका अरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् ।
भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।
कोरोना देखिएका ३१ जनामध्ये अधिकांश गत जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय कृष्णबहादुर गैरे सँग सम्पर्कमा आएका व्यक्ति हुन् । गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो । गत जेठ १८ गते उनको सम्पर्कमा आएका र उनीसँगै आएकाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ र संक्रमितको संख्या ३५ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सोमबार पुष्टि भएका ३१ संक्रमितमध्ये २९ जना सन्धिखर्क नगरपालिकाका, एक जना शितगंगा नगरपालिकाका र एक जना पाणिनि गाउँपालिकाका रहेका छन् ।
सन्धिखर्क १ का १ जना , सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना हरेका छन् । सन्धिखर्क ६ का भृकुटी आधारभुत विद्यालय र विद्या विनय आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । ७ नम्वर वडाका चन्द्र प्रभा मावि र आदर्श माविको क्वारेन्टाइनमा बसेका थिए ।
पाणिनि गाउँपालिका ७ को शिव मदन माविको क्वारेन्टाइनमा बसेका एक जना र शितगंगा नगरपालिका १० का एक जना स्थानीय विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।
नगर उपप्रमुखलाई कोरोना
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकलाई कोरोना संक्रमणको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा नगरउप्रमुख विकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
संक्रमण भएको खबरपछि उनलाई फोन सम्पर्क गरी सोध्दा उनले भने, ‘म भारतबाट आएकाको सहयोग र क्वारेन्टाइन व्यवस्थापनमा दिनरात लागे। आज कोरोना पुष्टि भएको खबर आयो ।यो सामान्य रुघाखोकी हो । म यसबाट अतालिएको छैन । म अब घरमै होम क्वारेन्टाइनमा बस्छु । आवश्यक कार्य फोन सम्पर्कबाट नै गर्छु । छिटो निको हुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।’
उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् । भारतबाट आएकाको प्रत्यक्ष सम्पर्कमा रहेकाले उनलाई कोरोना लागेको हुनसक्ने अनुमान गरिएको छ । अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो । नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिर्पोट भने नेगेटिभ आएको छ ।