काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेस नेता रायमाझीले आइतबार बैठकको विशेष समयमा सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण माग गरे ।
‘‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्बभन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ। हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाखभन्दा बढीको कुनै पनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्र आह्वानमार्फत गर्नुपर्छ भनेर भनिन्छ,’’ सांसद रायमाझीले भने, ‘‘यो कहाँ-कहाँ बोलपत्र आह्वान गरियो ? कसरी यत्रो पैसा खर्च भयो ?
यो नेपाली जनताले जान्न पाउने कि नपाउने ?’’ उनले सरकारले गरेको खर्चको विवरण फेहरिस्त सार्वजनिक गर्नुपर्ने बताए । १० अर्ब खर्च हुँदा स्वास्थ्यकर्मीसँग मास्क र पीपीई समेत नभएको, आइसोलेसन पनि राम्रो नभएको भन्दै भन्दै उनले असन्तुष्टि जनाए। मान्छेको मृत्यु पछि मात्रै कोरोना परीक्षण गर्ने र पोजेटिभ नतिजा सार्वजनिक गर्ने गरिएको भन्दै उनले सरकारको आलोचना पनि गरे ।