काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सरकार एक्लैले अहिलेको संकट पार नलगाउने भन्दै मिलेर काम गर्ने प्रस्ताव गर्नुभएको छ। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रिजालले सरकारसँग देश बनाउने राष्ट्रिय अठोट नभएको भन्दै मिलेर काम गर्न प्रस्ताव गर्नुभएको हो।
उहाँले सरकार संकटका बेला कार्पेटको व्यवस्थापनमा लागेका आरोप लगाउनुभयो। ‘नेपालीहरू कसरी कोरोनाबाट उम्कने भन्नेमा छन्। सरकारमा बसेकाहरू कसरी कार्पेट व्यवस्था गर्ने भनेर मस्त छन्,’ उहाँले भन्नुभयो, ‘सरकारमा बसेका र सत्ता निकटका मानिसहरु सत्ताको बाँसुरी कुन धुनमा राम्रोसँग बज्छ भनेर प्रयत्न गरिरहेका छन्।’
सांसद रिजालले सरकारको गतिविधि हास्यास्पद भएको भन्दै जनताको घाउमा नुन नछर्कन आग्रह गर्दै मिलेर अगाडि बढ्न प्रस्ताव समेत गर्नुभयो।