पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । उनीहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेको जनाइएको छ । उनीहरू तीनै जनालाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा ल्याएर राख्ने तयारी गरिएको नवलपुरका जनस्वास्थ्य प्रमुख केशव चापागाईंले अनलाइनखबरलाई जानकारी दिए । चापागाईंका अनुसार १७ दिनअघि नेपाल आएका उनीहरूको अवस्था सामान्य छ ।
यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।