जनकपुरधाम। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो ।धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उनमा संक्रमण पुष्टि भएको जानकारी दिए ।आफ्नो स्वकीय सचिवमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको राज्यमन्त्री यादवले बताइन् । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।
प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।