बिरगंज । भारतबाट आई क्वारेन्टिनमा बसेकी दुई महिलाले बुधबार राति क्वारेन्टिनमै बच्चा जन्माएकी छिन् । डोटीको दिपायल सिलगढी नगरपालिका-२ मा रहेको देवी माबि खातिवाडामा रहेको क्वोरन्टिनमा रहेकी स्थानीय गीता आउजीले राति एक बजेर ४४ मिनेटमा छोरा जन्माएकी हुन् ।
गत १२ गते भारतको राजस्तानबाट श्रीमान् अमर आउजीसँगै नेपाल आएकी उनी नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दै आएको वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
‘राति करिब पौने दुई बजे उनले बच्चा जन्माएकी रहिछन्,’ वडाध्यक्ष खड्काले भने, ‘हामीलाई बिहानमात्रै जानकारी आयो ।’
उनले क्वारेन्टिनमै बच्चा जन्मिएको जानकारी पाएपछि आफूले तुरुन्तै स्वास्थ्यकर्मीहरुको टोली सम्बन्धित क्वारेन्टिनमा पठाएको बताए ।
खड्काकाअनुसार गीताले क्वारेन्टिनमा दोश्रो सन्तानको जन्म दिएकी हुन् । आमा र बच्चाको स्वास्थ्यअवस्था सामान्य रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।
यस्तै, डोटीकै शिखर नगरपालिका-३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौंको क्वारेन्टिनमा रहेकी २५ वर्षीया पूजा सार्कीले पनि छोरा जन्माएकी छन् ।
बिहीबार बिहान करिब साढे पाँच बजेतिर उनले क्वारेन्टिनभित्रै छोरा जन्माएको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश कठायतले जानकारी दिए ।
जेठ १५ गते भारतको मुम्वईबाट श्रीमान् गगनसिं सार्कीसँगै नेपाल भित्रिएकी पूजा क्वारेन्टिनमा क्वारेन्टिनमा बस्दै आएकी थिइन् । उनले पनि स्वास्थ्यकर्मीको अनुपस्थितिमै बच्चा जन्माएकी हुन ।
यसअघि शिखर नगरपालिका-१ को कपल्लेकीको क्वारेन्टिनमा रहेकी एक महिलाले पनि बच्चा जन्माएकी थिइन् ।
क्वारेन्टिनमै स्वास्थ्यकर्मीको सहयोगविना सुत्केरी हुनु आमा र शिशु दुवैका लागि जोखिमपूर्ण हुने डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डे वताउँछिन् । ‘पहिलो कुरा सामान्य अवस्थामा पनि स्वास्थ्यकर्मीको सहयोगविनै बच्चा जन्माउनु जोखिमपूर्ण हुन्छ, त्यसैमा कोरोनाको महामारी भएका बेला झनै जोखिम हुन्छ ।’
उनले क्वारेन्टिनमा यदि कसैलाई कोरोनाको संक्रमण भए सुत्केरी महिला र शिशुलाई छिटो संक्रमण हुन सक्ने बताइन् । सुत्केरी अवस्थामा महिलाहरु कमजोर हुने र रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने उनको भनाइ छ ।
यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुले तत्काल आरडीटी टेष्ट गरेर उनलाई होम क्वारेन्टिनमा पठाउनु उपयुक्त हुने डा पाण्डेले सुझाइन् । उनले क्वोरेन्टिनमा बसेका महिलाहरुलाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा ल्याउनु पर्नेसमेत बताइन् ।
यसअघि क्वारेन्टिनमा बसेका दुई महिलाहरु सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याइएको र सावधानी अपनाएर सुत्केरी गराएको डा पाण्डेले जानकारी दिइन् ।