नयाँदिल्ली : भारतको बिहार राज्यमा एक १४ वर्षीया नेपाली बालिकामाथि सामूहिक बलात्कार भएको छ ।६ महिना अघिदेखि बिहरा राज्यको राजधानी पटनामा दिदी भिनाजुसँग बस्दै आएकी बालिकामाथि सोमबार साँझ ६ जनाले सामूहिक बलात्कार गरेका हुन् । उनी छिमेकीको घरमा सरसफाइको काम गर्थिन् ।
सँधैजसो सोमबार साँझ करिब पाँच बजे उनी नजिककैको एउटा अपार्टमेन्टमा काम गरेर कोठा फर्किदै गर्दा गल्लीमा ढुकेर बसेका आरोपितमध्येका एक रोशन कुमारले जबर्जस्ती मोटरसाइकलमा राखेर नजिकैको बन्दै गरेको घरमा लगेको र अन्य पाँच जनासँग मिलेर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पीडित बालिकाले प्रहरीलाई दिएको बयानका अनुसार रोशनलगायतका आरोपित केटाहरुले उनलाई केही दिन पहिलेदेखिनै पछ्याइरहेका थिए ।पटनाको गर्दानीबाग महिला प्रहरी थानाकी प्रमुख आरतीकुमारी जैसवालका अनुसार ती केटाहरुले बालिकालाई केही दिन पहिलेदेखि नै पछ्याइरहेको देखिन्छ सोमबार त्यस्तै मौका पारेर जबर्जस्ती लगेको हो ।
घटनालगत्तै पीडित बालिकाले रोइकराई गरेको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पीडित बालिकाको बयानकै आधारमा तत्कालै रोशनसहित मन्टु कुमार, विकास कुमार, अंशुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार बलात्कारमा संलग्न अन्य दुई जना भने फरार छन् ।