डोटी । सुदूरपश्चिम प्रदेशमा भारत तथा जिल्लाकै विभिन्न क्षेत्रबाट आएका ४३ हजार ६ सय ६२ जना क्वारेन्टिनमा राखिएका छन् ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार साँझ जारी गरेको अद्यावधिक तथ्याङ्क अनुसार प्रदेशका नौ वटै जिल्लाका एक हजार दुई सय ४७ स्थानमा बनाइएका क्वारेन्टिनस्थलमा पाँच हजार पाँच सय तीन महिला र ३८ हजार एक सय ५९ पुरुष रहेका छन् ।
कैलालीमा सबैभन्दा बढी क्वारेन्टिनमा रहेका छन् । यस जिल्लामा दुई सय ८४ स्थानमा रहेका क्वारेन्टिनमा एक हजार आठ सय ४५ महिला र ९८४४ पुरुष गरी ११ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन् ।क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्याका हिसाबले डोटी दोस्रो स्थानमा रहेको छ । यस जिल्लामा एक सय ६८ स्थानमा रहेका क्वारेन्टिनमा सात हजार ९० जना रहेका छन् । यस्तै कञ्चनपुरका ९२ क्वारेन्टिनमा ६ हजार चार सय ९०, बैतडीका एक सय ११ स्थानमा पाँच हजार २१ र डडेल्धुराका एक सय २४ क्वारेन्टिनमा तीन हजार आठ सय ११ जना रहेका छन् ।
अछामका एक सय ६६ स्थानमा तीन हजार ६ सय ४५, बाजुराका एक सय २२ क्वारेन्टिनमा तीन हजार एक सय ५१, बझाङका एक सय ३३ क्वारेन्टिनमा एक हजार नौ सय एक र दार्चुलाका ४२ क्वारेन्टिनमा आठ सय ६४ जना रहेका मन्त्रालयद्वारा सार्वजनिक सूचनामा उल्लेख छ ।यस्तै आइतबार साँझसम्मको तथ्याङ्कअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या २६ रहेको छ भने बाजुराका दुई बर्षीया बालिका कोरोनाको संक्रमणका कारण मृत्यु भएको पुष्टी भएको छ । प्रदेशका विभिन्न अस्पतालमा २७ जनालाई आइसोलेसनमा राखिएको छ ।
मन्त्रालयको अद्यावधिक सूचना अनुसार आइतबार साँझसम्म ६ हजार दुई सय ९६ मा पीसीआर र २२ हजार तीन सय ६ मा आरडीटी विधिबाट परीक्षण गरिएको छ । प्रदेशका विभिन्न जिल्लाका गरी ६ सय १६ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।