वीरगञ्ज ।मुकेश खेतान। जीराभवानी गाउँपालिका–१ पकडीटोलाका ३५ धाँगड–मुसहर परिवारलाई राहत वितरण गरिएको छ। राज्यका तीनै अङ्गबाट राहत प्याकेज पाउनबाट वञ्चित पकडीटोलाका मानिसहरू लकडाउनमा अति कष्टकर जीवनयापन गर्दै आएको समाचार थाहा पाएर मिथिला वाइल्डलाइफ ट्रस्ट र भोर नामक संस्थाले उनीहरूको बस्तीमा राहत वितरण गरेको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए।
छोरा छोरी, गानडिज र लास्ट नाइट अडिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा र मिथिला वाइल्डलाइफ ट्रस्ट तथा भोरको सहकार्यमा आफूले राहत वितरणको व्यवस्थापन मिलाएको सामाजिक कार्यकर्ता थारूले बताए। स्थानीय रामशरण खवास, अजगैवीनाथ गौरो, प्रभु चौधरीले थारूलाई यस काममा सघाएका थिए।
लकडाउनको ६४ दिनसम्म पनि कुनै तहबाट राहत नपाएर दैनिक जीवनयापनको समस्यासँगै जुध्दै आएका यी परिवारलाई मिथिला वाइल्डलाइफ ट्रस्ट र भोर संस्थाले प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो सोयाबिन, ५ किलो हरियो तरकारी, एउटा लौका र २ वटा साबुन राहत सहयोग गरेको सामाजिक कार्यकर्ता थारूले बताए।
लकडाउनको ६४ दिन वितिसक्दासमेत राहत नपाएपछि दुईछाक टार्न निकै समस्या परेको अवस्थामा राहत पाउँदा निकै खुसी लागेको स्थानीय झगरु माझीले बताए ।आफ्ना लागि बिहान बेलुकाको छाक टार्न समस्या भइरहेको समयमा उनीहरुका लागि आवश्यक पौष्टिक आहारको व्यवस्था गर्न नसकेको स्थानीयले बताएका छन् ।
राहतको वितरणमा जिराभवानी गाउँपालिकामा तीन तहको सरकारको कुनै उपस्थिति नदेखिएको जानकारी पाएपछि राहत वितरण गरिएको भोरको संस्थापक अध्यक्ष राजकुमार महतोले बताए ।जिराभवानीकै वडा नं १ चमरी टोल, बेलटारी तथा वडा नं ५ को हरैया, सखुवनीया र शंकरसरैयाको विपन्न वर्गहरुलाई अझसम्म पनि राहत नपाएर अवस्था नाजुक बनेको छ, मिथिला वाइल्डलाइफ ट्रस्टका प्रमुख देव नारायण मण्डलले बताए।
जिराभवानीमा कोभिड १९ ले पछि असर गर्छ तर जिराभवानीका जनता भोकले मर्ने अवस्थामा पुगेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् ।‘कोभिड(१९ को संक्रमणले मान्छे मर्छ कि मर्दैन त्यो पछिको कुरा होला । तर जिराभवानीमा खान नपाएर मानिस मर्ने अवस्था आउन लागेको छ,’ थारुले भने, ‘लकडाउनले काम खोसिएको छ, पालिकाले राहत वितरण गरेको छैन, जनता भोकभोकै छन् । यसबारेमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।