वीरगंज । सरकारले यो वर्ष भौतिक पूर्वाधारतर्फको बजेट १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको बजेट गत वर्षको भन्दा २४ अर्ब ७२ करोडले घटाएको हो ।
सरकारले यो वर्ष राजस्व स्रोतमा परेको दबावका कारण भौतिक पूर्वाधार आयोजनाहरुको कटौती गरेको हो । बजेट लिएर पनि खर्च गर्न नसकेका आयोजनाहरुलाई अर्थ मन्त्रालयले यस वर्ष बजेटमा निकै कसेको छ ।
यो वर्ष रेल विभागको बजेट आंशिक मात्रै बढेको छ भने सडक विभागको बजेट घटेको छ । यो पटक सरकारले पूर्वतयारी नसकिएका आयोजनाहरुलाई ठूलो बजेट विनियोजन गरेको छैन ।यो वर्ष राष्ट्रिय गौरवका सडक सम्बद्ध आयोजनाको बजेट पनि घटाइएको छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं–तराई द्रुतमार्ग लगायत सबै आयोजनाको बजेट घटेको छ ।