वीरगंज । कोरोना महामारी फैलँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक पूर्वधार रहेका देशभरका केही अस्पतालहरूलाई अस्थायी कोभिड अस्पतालको रूपमा रूपान्तरण गर्दै संक्रमितहरूको उपचार गराउन सुरुवात गर्यो ।
अस्थायी कोभिड अस्पतालहरूमा सरकारले आवश्यक भौतिक पूर्वाधारदेखि लिएर स्वास्थ्य सामग्रीहरू पनि व्यवस्थापन गर्दै लगेको अवस्था छ । तर पनि संक्रमितहरूलाई राखेर उपचार गराउने व्यवस्था अझै प्रभावकारी हुन सकेको छैन ।भौतिक पूर्वाधार भएका अस्पतालमा कोभिड अस्पताल सञ्चालन गर्नेबारे सरकारले तीव्र चासो राखेर सञ्चालन गरेको अवस्था पनि हो ।
तर अस्थायी कोभिड अस्पताल सञ्चालन गरिएका जनरल अस्पतालमा पुनः कसरी सेवा सञ्चालनमा ल्याउने भन्ने वैज्ञानिक आधार अर्थात् गाइडलाइन भने सरकारले तयार पारेको देखिँदैन । त्यही वैज्ञानिक तथ्य अर्थात् गाइडलाइन नहुँदा करिब दुई महिना अस्थायी कोभिड अस्पतालको रूपमा विकास गरिएको वीरगञ्जस्थित नारायणी अस्पतालबाट पुनः जनरल सेवा सञ्चाालन गर्नेबारे अन्यौलता देखिएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ का बिरामीहरूलाई बिस्तारै डिस्चार्ज गर्दै लैजाने र सबै डिस्चार्ज भइसकेपछि जनरल सेवा सुरु गर्न भनेर अस्पताललाई निर्देशन त दिएको छ तर जनरल सेवा पुनः सुरु गर्दा अपनाउनु पर्ने गाइडलाइन भने उपलब्ध गराएको छैन ।
नारायणीबाट जनरल सेवा सञ्चालन गर्न स्थानीयस्तरबाट चौतर्फी दबाव सिर्जना गरिएको छ । राजनीतिक दलदेखि लिएर सामाजिक अभियन्ताहरूले समेत जनरल सेवा पुनः सञ्चालन गराउन दबाव दिँदै आइरहेका छन् ।
सोमबार एकैपटक ४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नारायणी अस्पताल कोरोनामुक्त बनेको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डक कोभिड अस्पताल पनि सञ्चालनमा आइसकेको र नारायणी अस्पताल कोभिड १९ को बिरामीरहित बन्न पुगेपछि जनरल सेवा पुनः सञ्चालन गर्न अस्पताल प्रशासनलाई दबाव सिर्जना भएको छ ।
नारायणी अस्पताल कोरोना मुक्त बनेपछि अस्पतालले जनरल सेवा पुनः सञ्चालन गराउँछ भन्ने धेरैले अपेक्षा गरिरहेका छन् । यसै विषयमा आधारित रहेर अनलाइनखबरले अस्पतालका मेसु डा. मदन उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंशः
अस्पतालमा रहेका सबै कोरोना संक्रमित निको भएर सोमबारदेखि डिस्चार्ज भएका छन् । अब जनरल सेवा सञ्चालन हुन्छ हो ?
अस्पतालले झण्डै दुई महिनादेखि कोरोना संक्रमितको उपचार गर्दै आइरहेको थियो । हिजो एकैदिन ४३ जना डिस्चार्ज भएसँगै अस्पतालमा अब कोरोनाका बिरामी छैनन् । अस्थायी कोभिड अस्पतालमा रूपान्तर भएपछि सर्वसाधरणहरू यहाँबाट पाउँदै आएका सेवा सुविधाबाट वञ्चित हुनु परेको यथार्थ नै हो । तर कोरोना संक्रमित बिरामी उपचार गराउने अस्पतालबाट जनरल सेवा सञ्चालन गर्न केही समय लाग्छ । त्यसको पनि प्रक्रिया हुन्छ ।
प्रक्रिया भन्नाले ?
जनरल अस्पतालबाट कोभिड अस्पताल सञ्चालन गराउनु जति सहज छ त्यति कोभिड अस्पतालबाट जनरल सेवा सञ्चालन गराउनु सहज छैन । यसको लागि वैज्ञानिक तथ्य अर्थात् गाइडलाइनहरू फलो गर्नुपर्ने हुन्छ । वैज्ञानिक आधारलाई फलो गरेर मात्रै अस्पतालबाट नर्मल सेवा सञ्चालन गराउन सकिन्छ । त्यसैले प्रक्रियागत रूपमा वैज्ञानिक आधारहरूलाई फलो गरेर मात्रै अस्पतालबाट पुनः सेवा सञ्चालन गराउँदा राम्रो हुन्छ ।
वैज्ञानिक तथ्य अर्थात् गाइडलाइन भनेको चाहिँ के हो ?
झण्डै दुई महिनादेखि संक्रमितहरू बसेको ठाउँबाट जनरल सेवा सञ्चालन गर्दा जोखिम हुन्छ । त्यस्तो जोखिमबाट बच्नका लागि अस्पताललाई नै निर्मलीकरण गर्नु पर्ने हुन्छ । निर्मलीकरण गरेको कति दिनपछि सेवा सञ्चालन गराउँदा सुरक्षित हुन्छौं भन्ने गाइडलाइन हामीसँग छैन । हामीले यसको प्राक्टिस गरेकै थिएनौं । हाम्रो लागि यो विल्कुल नयाँ प्राक्टिस हो । नर्मललाई कोभिड अस्पताल त बनायौं । तर कोभिडबाट नर्मल सेवा सुचारु गर्दा कस्तो गाइडलाइन अपनाउने भन्नेतर्फ ध्यान दिएनौं ।
मानौं स्वास्थ्य मन्त्रालयले गाइडलाइन पठाएन, त्यस्तो बेला कसरी सञ्चालन गरिन्छ ?
कोभिड अस्पताललाई जनरल बनाउने नेपालको लागि विल्कुलै नयाँ प्राक्टिस हो । त्यतातिर कसैको ध्यान जान सकेन । महामारी फैलिँदै गएपछि त्यसतर्फ सोच्ने ध्यान कसैको नपुगेकै हो । मन्त्रालयले एउटा गाइडलाइन पठाउँछ भन्नेमा हामी विश्वस्त छौं । तर पनि अस्पतालले वैज्ञानिक तथ्यहरूको अध्ययन गरेर सेवा सञ्चालन गर्न निर्देशन भयो भने हामी आफैं पनि त्यसको आधारहरू खोजेर सेवा सञ्चालन गराउनेतर्फ लाग्छौं ।
जनरल सेवा सुरु गराउन कति समय लाग्छ त्यसो भए ?
आजबाटै सुरु गर्छु, भोलिबाटै सुरु गर्छु भनेर हुँदैन । त्यसो गर्दा हतार हुन सक्छ । जसले थप जोखिम बहन गर्नुपर्ने पनि हुन्छ । कोभिडको उपचारमा संलग्न सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्यो । उनीहरूको परीक्षणको रिपोर्ट आउन पनि त समय लाग्छ ।यो अन्तर्वाता अन्लाईनखबरमा आज प्रकासित गरिएको छ |