वीरगंज | नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक सय ५५ जना उपचारपछि निको भएका छन् । साेमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक सय ५५ पुगेको हो ।अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले आज ४३ जना कोरोनामुक्त भएपछि नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएको बताउनुभयो । यसअघि साेमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए ।
उपचारपछि निको भएका दुई महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले जनाकारी दिनुभयो । प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा दुई , प्रदेश ५ मा ३५ जना र सूदूरपश्चिममा पाँच जना गरी एक सय ५५ जना उपचारपछि निको भएका हुन् ।
त्यस्तै साेमबार नै कपिलवस्तुमा कोरोना सङ्क्रमित नर्स उपचारपछि घर फर्किनुभएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत तौलिहवाकी २५ वर्षीया नर्स सङ्क्रमणबाट मुक्त भएर घर फर्कनुभएको हो ।उहाँको दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । नेपालमा पहिलो कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी १४ दिनमै कोरोना जित्न सफल भएको पनि थापाले बताउनुभयो ।