वीरगञ्ज | प्रधानमन्त्री केपी शर्मा ओलीले हाल विश्वमा जारी कोरोना महामारी नेपालमा पनि अझै केही अवधि रहिरहने बताएका छन्। सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी अझै केही अवधि रहिरहन सक्ने बताएका हुन्। ‘कोरोना महामारीको संक्रमण अझै केही अवधि रहने निश्चित छ’, ओलीले भने, ‘महामारी देखिएको ठाउँला सिल गरिएको छ। महामारीसँग जुध्न सबै तयार हुनुपर्छ।’
ओलीले क्वारेन्टाइनको संख्या बढाउने नीति लिइएको बताउँदै आवश्यकता अनुसार होटलहरुलाई पनि क्वारेन्टाइन बनाउने उल्लेख गरे। ‘केन्द्रीय योजना र स्थानीय सरकारको व्यवस्थापनमा हेरचाह भइरहेको छ’, उनले भने, ‘जनताका लागि रोग र भोकविरुद्ध सरकार लडिरहेको छ।
आगामी दिनमा थप रचनात्मक सहयोग चाहिएको छ।’ सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको उनले बताए। ‘विदेशबाट आउने नेपालीको परीक्षण अभावमा महामारी तीव्र गतिमा फैलियो’, उनले भने, ‘हामी स्पष्ट हुनुपर्छ, कोही पनि रहरले विदेशिएको छैन। घर फर्किएकाहरुलाई आफ्ना कारण महामारी नफैलियोस भन्न चहान्छु।’