वीरगंज। रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको हो ।सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । उनी मदानेकै एक बैंकका कर्मचारी हुन् ।
रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् भने कपिलवस्तुका तीनजना मायादेवी गाउपालिकाका हुन् । उनीहरु ६ जना २० देखि ४० वर्षका पुरुषहरु रहेका प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।गैडहवा गाउँपालिकामा शुक्रबार मात्रै ७ जनामा कोरोना पाजेटिभ देखिएको थियो । उक्त पालिकामा संक्रमितको संख्या २० जना पुगेको छ ।
पालिकाहरुमा कोरोना संक्रमित बढेसंगै उनीहरुलाई थप उपचारका लागि राख्ने आइसोलेसन बेड नहुँदा समस्या भएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । भैरहवाको भीम अस्पताल र बुटवलको धागो कारखानाका आइसोलेसन बेड बिरामीले भरिएकाले नयां संक्रमितलाई राख्ने ठाउं नभएको उनले गुनासो गरे ।