हेटौंडा | हेटौंडाकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ । हेटौंडा अस्पतालबाट गत बैशाख ४ मा काठमाडौं रिफर गरिएकी बिरामीमा कोरोना पुष्टि भएपछि त्रास बढेको हो ।
संक्रमित महिलासँग सम्पर्कमा गएका अस्पतालका ५ जना डाक्टरसहित २२ जना अन्य कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय भएको अस्पतालका सुचना अधिकारी राजिव झाले बताए । ‘हामीले संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका पाँच जना डाक्टरसहित २२ जनाको पहिचान गरेर उहाँहरूलाई एकहप्ता सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौँ भने समितिसँग ओपीडि बन्द गर्ने प्रस्ताव पनि गरेका छौँ’, उनले भने ।
झाका अनुसार अस्पतालमा रहेका १ सय ५० जना कर्मचारीमध्ये ६० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । हेटौंडा ४ की संक्रमित महिला मुटु समम्बन्धि समस्या लिएर हेटौंडा अस्पताल पुगेकी थिइन् । मुटुको समस्या बढेपछि उनलाई अस्पतालले महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको थियो ।
मनमोहनमा उपचार गराइरहेकी महिलाको शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि भएको जानकारी दिएको थियो । स्वास प्रस्वासमासमेत समस्या आएका कारण उनलाई काठमाडौंमा रिफर गरिएको थियो । उनलाई उपचार गर्ने डाक्टर, सम्पर्कमा रहेका व्यक्ति, घर परिवारको समेत पीसीआर गर्ने तयारी थालिएको छ । संक्रमित महिलासंग सम्पर्कमा आएका नर्स, डाक्टर तथा अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । ‘स्वास्थ्यकर्मीहरु संक्रमितसँगै अन्य ब्यक्तिको पनि सम्पर्कमा पुगेको हुनाले सबै सचेत हुनुपर्छ’, उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार ती महिला हेटौंडा–३ की रहेको भन्दै गलत सूचना दिएको थियो । हेटौंडामा नै बस्दै आएका ब्यक्तिमा पहिलो पटक कोरोनो संक्रमण पुष्टि भएको हो ।