बीरगन्ज | बीरगन्जस्थित नारायणी अस्तालमा उपचाररत संक्रमितहरुमध्ये आधा दर्जन एक दुई दिनमा डिस्चार्ज हुने भएका छन् । संक्रमितको उपचारमा खटिएका चिकित्सक डा. उदय नारायण सिंहले यसबारे जानकारी दिएका छन् । करिब आधा दर्जन संक्रमितहरुको दुई रिपोट नेगेटिभ आएको हुनाले आजभोलि मै शुभ समाचार मिल्न सक्ने संकेत डा. सिंहले दिए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार संक्रमण पुष्टि भए पछिको १० औं दिन र त्यसपछिको ४८ घण्टा पछि र ७२ घण्टा पछि पनि पिसिआर परिक्षण गर्दा रिपोट नेगेटिभ आए संक्रमितलाई डिस्चार्ज गर्न सकिने डा. सिंहले जानकारी दिए ।
डा. सिंहका अनुसार केही संक्रमितहरुको लगातार दुई रिपोट नेगेटिभ आएको र केहीको रिपोट आउने क्रममा रहेको हुदाँ एक/दुई दिनमै आधा दर्जन जति संक्रमित डिस्चार्ज हुन सक्नेछन् ।यता, नारायणीमा उपचाररत अन्य संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए । संक्रमितहरुमध्ये केही मधुमेहका र केही मुटु रोगी रहेको उनले जानकारी दिए । साथै, मानसिक तनावले गर्दा केही संक्रमितमा ब्लड प्रेसर र सुगरको लक्षण देखिएको हुन सक्ने सिंहले भने । केहीलाई ढाडको समस्या, जिउ दुख्ने समस्या, सामान्य ज्वरो, टाउको दुख्ने र एक दुई जनालाई खोकी मात्र देखिएको डा सिंहले जानकारी दिए । यी सामान्य स्वास्थ्य समस्या बाहेक संक्रमितहरुमा कोरोनामा मुख्य लक्षण भने नदेखिएको डा. सिंहको भनाई छ ।
उपचाररत दुई पत्रकारहरु पनि स्वस्थ्य रहेको उनले बताए । दुई मध्ये एक जनालाई खोकी लाग्नु बाहेक अन्य कुनै पनि स्वस्थ्य समस्या नदेखिएको उनले बताए ।यसैगरी, नारायणी र गण्डक अस्पताल गरी दुई ठाँउमा आजबाट आईसोलेसन वार्ड सन्चालनमा आएपछि चिकित्सकको दुई समुह बनाएर संक्रमितको उपचार शुरु गरिएको छ । जनशक्ति पहिला जत्तिकै रहेको भन्दै डा. सिंहले हाललाई भएको जनशक्ति दुई ठाँउमा बाँडिएर काम गर्न शुरु गरिएको उनले बताए । तथापि केही निजी अस्पतालहरुका जनशक्तिको सहयोगका लागि आग्रह गरिएको उनले जानकारी दिए । यदि केही दिनमा नारायणीमा अन्य जनरल सेवा सुचारु भए पश्चात भने जनशक्तिको अभावमा जटिल समस्या आउने सक्ने डा सिंहले बताए ।हाल नारायणीमा ९६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।nepalpostdaily