वीरगन्ज | नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् ।
झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ । बिहीबार नै कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाको संख्या तीन पुगेको छ । अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् भने संक्रमितको संख्या ४५३ पुगेको छ ।