काठमाडौं | कोरोना पोजिटिभ देखिएका रामेछापका एक पुरुष वैशाख ३० गते काठमाडौं आएको खुलेको छ। खाँडादेवी गाउँपालिका – १ राकाथुमका २३ वर्षीय युवकलाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए। उनका अनुसार काठमाडौंको एक होटलमा काम गर्ने युवक लकडाउन भएसँगै चैत्र ११ गतेदेखि नै रामेछाप आएर बसेको र राकाथुमबाट वैशाख ३० गते काठमाडौं फर्किएका हुन्।
संक्रमित व्यक्तिका आफन्त काठमाडौंमा तरकारी, खाद्यान्न लगायतका सामान ढुवानी गर्ने भएकाले उनी पनि विभिन्न स्थानमा सँगै हिँडेपछि घरबेटीले कोरोना परीक्षणपश्चात मात्रै कोठामा आउन आग्रह गरेकाले उनी टेकुमा चेकजाँच गर्न गएका थिए। स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गर्दा मंगलबार पोजिटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार नयाँ संक्रमित २७ जनामध्ये रामेछापका एक जनामा कोरोना भाइरस पोजिटिभ भएको उल्लेख गरेसँगै उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) खोजिएको थियो। व्यक्ति ठेगाना पहिचान भएसँगै मंगलबार रातिनै चिकित्सकको टोली राकाथुम पुगेर १५ जनाको स्वाब संकलन गरी जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले अन्नपूर्ण पोस्ट अनलाइनलाई जानकारी दिए।
उनले भने, ‘केन्द्रबाट कोरोना पोजिटिभ देखिएको व्यक्ति र स्थान पहिचान हुन साथ राति नै तीन जना चिकित्सकको टोलीले १५ जनाको स्वाब संकलन गरेर पठाएका छौं।’ कर्णका अनुसार आज साँझ वा भोली बिहानसम्म कोरोना रिपोर्ट आएपश्चात कसरी बढ्ने भन्ने थप योजना बन्ने छ। संक्रमित व्यक्तिको टेकु अस्पतालमा उपचार भइरहेको उनले बताए।
गएरातिबाट नै संक्रमित व्यक्ति बसेको टोलमा जनपथ प्रहरी खटाएर सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। संक्रमित व्यक्ति पास लिएर गएको वा नगएको कसरी काठमाडौं पुगे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्। शर्माले भनिन्, ‘ हामीले हेर्दैछौ, मोटरसाइकलमा गएको हो या गाडीमा गएको हो। उक्त क्षेत्र अलि खुला छ, त्यो भएकाले पछिल्लो समय मान्छेको बाक्लो रुपमा आउ-जाउ भएको जानकारी आएपछि केहि समय अगाडि नै सशस्त्र प्रहरीको चेक पोस्ट राखिएको छ।’
बाहिरी जिल्लाबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने क्रम नरोकिएपछि रामेछाप भित्रने सीमा नाकाहरुमा सशस्त्र प्रहरी खटाइएको थियो। शर्माका अनुसार खाँडादेवी गाउँपालिका छिर्ने नाकाहरुमा बैशाख २८ गतेबाट नै सशस्त्र प्रहरी खटाइएको हो।मन्त्रालयले विवरण सार्वजनिक गर्दा संक्रमित व्यक्तिको स्थायी र अस्थायी दुवै ठेगाना नबताउँदा व्यक्ति पहिचान नहुँदा जिल्लामा त्रास उत्पन्न भएको थियो। यो सँगै रामेछाप स्थायी ठेगाना हुने २ जनामा कोरोना संक्रमण देखिएको छ।
यस अगाडि रामेछाप स्थायी घर भएका २७ वर्षीय सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएका थिए। सरस्वती खेल वरपर, पसलमा किनमेल गर्न भने जाने गरेका थिए तर उपत्यका बाहिर कहीँकतै गएको उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) नरहेको बताइएको छ। उनको पनि उपचार भइरहेको छ।
सशस्त्र प्रहरीका जवान संक्रमित भएको चाँगुनारायण नपा १ सरस्वतीखेलमा सोमबार चाँगुनारायण नपाको पहलमा स्थानीय एकसय १९ जनाको कोरोना परीक्षण गरिएको थियो। द्रूत परीक्षण विधि (आरडीटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले जानकारी दिए।anpurnapost