काठमाडौं | मंगलबार बिहान १५ जनामा थप कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।मंगलबार प्रदेश १ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्
सुनसरीमा देखिएका कोरोना संक्रमित व्यक्तिमध्ये एक जना इटहरीका १८ वर्षीय युवक हुन् भने अर्का सशस्त्र प्रहरी कर्मचारी हुन् ।झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन् ।यहाँका एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।
आजै मात्र कपिलवस्तुमा थप ४ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन् ।उदयपुर, भोजपुर, झापा, मोरङ, धनकुटा, सुनसरी र खोटाङमा कोरोना संक्रमित भेटिएका छन् । विराटनगरको कोशी अस्पताल र प्रदेश प्रयोगशाला तथा धरानको वीपी प्रतिष्ठानमा संकलन भई आउने नमुना परीक्षणको दर बढेसंगै संख्या पनि थपिन थालेको सामािजक विकास मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले जानकारी दिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमणको पीसीआर परीक्षण दर बढाइएको छ ।यता प्रदेश १ को उदयपुरमा ३३, झापामा १२, मोरङ र सुनसरीमा तीन तीन, धनकुटा, भोजपुर, र खोटाङमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा उपचारपछि ठिक भएर कोशी अस्पतालबाट १८ जना डिस्चार्ज भइसकेका छन् ।
हालसम्म नेपालमा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएकामध्ये तीन जना पुनः संक्रमित भएर उपचार गराई रहेका छन् । साथै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय युवक र सिन्धुपाल्चोककी २९ वर्षीया महिला रहेकी छन् ।