एजेन्सी | विश्व इतिहासमा कतिपय यस्ता आम नरसंहारका घटना भए जो इतिहासको पानामा रक्तरञ्जित छन् र सायदै कहिल्यै बिर्सिएलान् ।
आजभन्दा करीब २५ वर्षअगाडि एउटा यस्तै भयानक नरसंहार भएको थियो । केवल १ सय दिनसम्म चलेको उक्त नरसंहारमा करिब ८ लाख मानिसको ज्यान गएको थियो ।
इतिहासकै सबैभन्दा भीषण नरसंहारको रूपमा चित्रित गरिने उक्त नरसंहार कसरी सुरु भयो भन्ने कुरा पनि निकै नै डरलाग्दो छ ।
उक्त भयानक नरसंहार अफ्रिकी मुलुक रुवाण्डामा भएको थियो । सन् १९९४ मा रुवाण्डाका राष्ट्रपति जुवेनल हाबयारिमाना र बूरुण्डीका राष्ट्रपति सिप्रेनको हत्या भयो । ती दुई राष्ट्रपति चढेको हवाइजहाजमै आक्रमण गरिएको थियो ।
राष्ट्रपतिहरुको हत्या गर्ने उक्त हवाइ हमला कसले गरेको हो ? भन्ने चाहिँ अहिलेसम्म पनि खुलेको छैन । तथापि, यसमा रुवाण्डाका हुटू अतिवादीहरुको हात रहेको बताउने गरिएको छ भने कतिपयले रुवाण्डाको प्याट्रिएक फ्रन्टले उक्त आक्रमण गरेको बताउँछन् ।
वास्तवमा दुवै राष्ट्रपति हुटू समुदायका थिए । त्यसैले पनि हत्यामा प्याट्रिएक फ्रन्टको हात रहेको हुटू अतिवादीहरुको आरोप थियो । तर फ्रन्टले भने नरसंहारको बहाना बनाउनका लागि हुटू विद्रोहीले नै हत्याकाण्ड गरेको आरोप लगायो ।
सोही हत्याकाण्डपछि तुत्सी र हुटू समुदायबीच जातीय युद्ध भयो, जुन नरसंहारमा बदलियो ।
७ अप्रिल १९९४ मा सुरु भएर १ सय दिनसम्म चलेको उक्त नरसंहारमा हुटू समुदायले तुत्सी समुदायमाथि क्रूर आक्रमण गरेको थियो । हुटू समुदायका मानिसहरुले तुत्सी समुदायका आफ्ना छिमेकी, आफन्त तथा आफ्नै पत्नीहरुको समेत हत्या गरेका थिए । साथै हुटू समुदायका पुरुषहरुले तुत्सी समुदायका धेरै महिलाहरुलाई यौन दासीसमेत बनाए ।
उक्त हिंसामा तुत्सी समुदायका मानिसहरुले समेत हुटू समुदायमाथि आक्रमण गरे । जसका कारण हुटू समुदायका हजाराैं मानिसको ज्यान गयो ।
मानव अधिकारवादी संस्थाहरूका अनुसार, रुवाण्डाको सत्या हत्याएसँगै रुवाण्डा प्याट्रिएक फ्रन्टका लडाकुहरुले हुटू समुदायमाथि आक्रमण गरेर हजारौँको हत्या गरेका थिए ।
रुवाण्डा नरसंहार समाप्त भएको आठ वर्षपछि सन् २००२ मा एक अन्तर्राष्ट्रिय अपराध अदालत गठन भयो उक्त नरसंहारका दोषीहरुलाई सजाय दिनका लागि । तर पनि उक्त अदालतले दोषीलाई सजाय दिन सकेन ।
त्यसपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तान्जानियामा एक अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल गठन गर्यो । उक्त इजलासले रुवण्डा नरसंहारमा केही मानिसहरुलाई दोषी ठहर गर्यो र सजाय सुनायो ।
उता रुवाण्डामै पनि दोषीहरू पत्ता लगाइ सजाय दिनका लागि सामाजिक अदालत बनाइएको थियो ।तर मुद्दा चलाउनु अगाडि नै करीब १० हजार मानिसको जेलमै मृत्यु भैसकेको बताइन्छ ।
उक्त जातीय नरसंहारको घटनापछि रुवाण्डाले ठूलो शिक्षा लिएको पाइन्छ । अहिले रुवाण्डामा जातीय समुदायमा विद्वेष फैलाउने गरी बोल्नुलाई समेत गैरकानुनी मानिन्छ र सजायको व्यवस्था गरिएको छ । अर्थात् स-साना घटनाले समेत पुनः जातीय द्वन्द्व फैलिन सक्ने सम्भावनाप्रति रुवाण्डा सचेत छ ।