जनकपुरधाम | प्रदेश २ मा आइतबारसम्म ५ हजार ३ सय ६९ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।
ती मध्ये १ सय २२ जनाको रिपोर्ट पोजेटिभ छ भने ४ हजार २ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ९ सय ५८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार ७ सय ५५ बेड क्षमताको १ सय ८३ वटा क्वारेन्टाइनमा २ हजार ६ सय ७३ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेशभरिमा अहिले ४ हजार ७ सय ६४ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने ४ सय ४ बेड क्षमताको आईसोलेसनमा १ सय ६ जना भर्ना रहेको उनले बताए ।
सचिव घिमिरेका अनुसार रौतहटमा ७ सय ९५ बेड क्षमताको १९ वटा क्वारेन्टाइनमा अहिले ४ सय ९१ जना रहेका छन् भने ३ हजार २ सय ५८ जना होम क्वारेन्टाइनमा छन् । रौतहटमा ५० बेड क्षमताको आईसोलेसनमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।
त्यस्तै बारामा ५ सय ४ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले २ सय ७७ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४६ वटा आईसोलेसन बेडमा अहिले कूनै शंकास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिए । बारामा अहिले २ सय ५२ जना होम क्वारेन्टाइनमा छन् ।
पर्सामा ६ सय ८१ बेड क्षमताको १९ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ३ सय ९३ जना क्वारेन्टाइनमा र ३ सय ६७ जना होम क्वारेन्टाइनमा छन् । पर्साको बिभिन्न ठाउँमा रहेको १ सय २९ बेडको आईसोलेसनमा अहिले ९६ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
सप्तरीमा ५ सय ८७ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले २ सय २३ जनालाई निगरानीमा राखिएको छ भने १ सय ८७ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ वटा आईसोलेसन बेडमा अहिले कुनैपनि शंकास्पद बिरामी भर्ना नरहेको उनले बताए ।
सिरहामा २ सय ५८ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ९९ जना र होम क्वारेन्टाइनमा १ सय ७९ जना रहेका छन् । त्यस जिल्लामा ४१ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय २० जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा १ सय २९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
त्यस्तै महोत्तरीमा ३ सय ८८ बेड क्षमताको १९ वटा क्वारेन्टाइन बनाइएको छ ।त्यहाँ अहिले ८ सय ५८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ८२ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन रहेपनि अहिले ति आईसोलेशनमा कुनै शंकास्पद बिरामी नरहेको उनले बताए ।
सर्लाही जिल्लामा ४ सय १७ बेड क्षमताको ३७ वटा क्वारेन्टाइनमा अहिले १ सय १२ जना रहेका छन् भने ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिएपनि अहिले ति आईसोलेसनमा कुनै शंकास्पद बिरामी भर्ना नरहेको बताइएको छ ।