देशभर हालसम्म ९२ हजार ४ सय ४० जनामा कोरोना परिक्षण, ३२० जना आइसोलेसनमा
वीरगंज संजाल
३ जेष्ठ २०७७, शनिबार २०:२०
२५४७
काठमाडौं | देशभर अहिलेसम्म ९२ हजार ४ सय ४० जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत २६ हजार ६९१ जनाको र र्यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ६५ हजार ७४९ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ५७९ र आरडीटी किट विधिबाट २ हजार ६६४ नमूना परीक्षण भएका छन्।
नेपालमा संक्रमितको संख्या २७८ जना पुगेको मन्त्रालयले जनाएको छ। तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेका छन्। ३६ डिस्चार्ज भइसकेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३६, २ मा १०९, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १०९ र सुदूरपश्चिममा ५ जना संक्रमित देखिएका छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन।
क्वारेन्टाइनमा १६ हजार ३६६ जना रहेका छन्। देशैभर अहिलेसम्म ३२० जना आइसोलेसनमा रहेका छन्। यसमध्ये २७८ जना संक्रमित र ४२ जना सम्भावित संक्रमित रहेको न्त्रालयले जनाएको छ।