काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्युको सम्बन्धमा विस्तृत विवरणहरु संकलन र कोरोना परीक्षण भइरहेको र अन्तिम रिपोर्ट प्राप्त भएपछि यथार्थ जानकारी दिइने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मृतक महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्मल डेलिभरी भएको प्रवक्ता देवकोटाले बताए ।
उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायतका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए ।
तर निको हुनुको साटो उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउँदा मृत्यु भएको जानकारी आएको डा देवकोटाले बताए । उनको बिहीबार निधन भएको हो ।
उनको धुलिखेल अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो । उनको स्वाब पुन परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
उनको कोरोना भाइरसका कारण मृत्यु भएको आशंकमा अस्पताल सिल गरिएको छ ।