काठमाडौँ | मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरू कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर, यो घटनाले काठमाडौं उपत्यकाबाहिर समुदायमै संक्रमण फैलिएको हुन सक्ने आधारलाई बलियो बनाइदिएको छ ।
बिहीबार साँझ सुनौली नाकाको सिमानामा आइपुगेका नेपालीको हूल । उनीहरुलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर भारततर्फै फकाईएको थियो ।
पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरूको परीक्षण र उनीहरूको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ । लकडाउनको समयमा मुख्य राजमार्ग भएरै छिरेकाहरूको तथ्यांक प्रहरीसँग रहे पनि सम्पूर्ण विवरण छैन । यस्तै चोरबाटोबाट छिरेकाको त न तथ्यांक छ न विवरण । यसले काठमाडौं उपत्यकालाई पुन: लकडाउनपूर्वकै अवस्थामा पुर्याइदिएको विज्ञहरू बताउँछन् ।
लकडाउन गर्नुको मुख्य कारण शंकास्पद व्यक्तिहरूको पहिचान गरेर परीक्षण दायरामा ल्याउँदासम्म ती व्यक्तिले संक्रमण नफैलाउन् भन्ने हो । चैत ११ गते लकडाउन सुरु गर्दा शंकास्पद व्यक्तिको सूचीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुनुपूर्व हवाईमार्ग हुँदै विदेशबाट फर्किएका र भारतमा संक्रमण फैलिएका राज्यबाट नेपाल प्रवेश गरेकाहरू मात्रै थिए । बुधबार लकडाउनको ५१ दिन पुग्दा हामी चैत १० गतेभन्दा पनि गम्भीर र जटिल मोडमा आइपुगेका छौं । अब अहिले सबैका लागि अर्को व्यक्ति ‘शंकास्पद’ हुने अवस्था सिर्जना भएको छ ।
अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयमा कार्यरत जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेले नेपालमा समुदायस्तरमा संक्रमण फैलिसकेको बताए । उनको विचारमा अहिले पनि अवस्थालाई नियन्त्रणमा लिने चाहना छ भने गम्भीर रूपमा सबै तह र तप्काका जिम्मेवार व्यक्तिले आफ्नो काम ठीक तरिकासँग गर्नुपर्छ । उनका अनुसार काठमाडौं उपत्यकामा केही समय लकडाउनलाई थप कडा बनाएर कन्ट्याक्ट ट्रेसिङसँगै धेरैभन्दा धेरै परीक्षण गर्नुपर्छ । यस्तै सीमावर्ती जिल्लामा भने धेरै क्वारेन्टाइन स्थलहरू बनाएर व्यवस्थित रूपमा नागरिकलाई भारतबाट फर्काइनुपर्छ । ‘सीमा बन्द गर्दा चोरबाटो हुँदै नेपाल प्रवेश गर्नेको संख्या बढेको भन्ने सुनिन्छ, यसले झनै जोखिम बढाउँछ,’ उनले भने, ‘बरु व्यवस्थित रूपमा विवरण राखेर भित्रिन दिँदा जोखिम कम गर्न सकिन्छ र स्थिति नियन्त्रणमा लिन पनि सहज हुन्छ ।’
भारतले पछिल्लो पटक लकडाउन बढाएसँगै विभिन्न राज्यमा अलपत्र परेका बिहार, उत्तरप्रदेश र झारखण्ड राज्यका कामदार तथा विद्यार्थीलाई घर फर्कन दिने नीति बनाएको थियो । भारतले यस्तो नीति अख्तियार गरेसँगै सीमावर्ती राज्य हुँदै नेपाल फर्कनेको भीड सीमा क्षेत्रमा जम्मा हुन थालेको छ । नेपाल र भारतले आफ्नो देशमा रहेका नागरिकलाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राख्ने तर सीमा पार गर्न नदिने सहमति गरेका थिए । पछिल्ला केही दिनयता भने भारतीयहरूले सीमाका क्वारेन्टाइनमा रहेका नेपाली तथा विभिन्न स्थानबाट यात्रा गरी सीमामा आइपुगेकालाई एकपक्षीय रूपमा सीमासम्म जान दिइरहेको सर्वविदितै छ । तर, नेपाली सुरक्षाकर्मी तथा निर्णायक तहमा रहेका नेताहरू भने नेपालीलाई अझै सहज प्रवेश दिने पक्षमा छैनन् ।
सीमावर्ती भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढ्दो रूपमा रहेकाले पनि सो क्षेत्रबाट ठूलो संख्यामा नेपाल भित्रिनेको व्यवस्थापन गर्न सरकार असक्षम रहेको कुरा घामजत्तिकै छर्लंग छ । सोही कारणले अप्रत्यक्ष रूपमा भारतीय सुरक्षाकर्मीको सहयोग प्राप्त गरी विभिन्न चोरबाटो हुँदै नेपालीहरू आफ्नो भूमिमा प्रवेश गरिरहेका छन् । नेपालको सीमावर्ती क्षेत्रमा संक्रमितहरूको संख्या ह्वात्तै बढ्नुको प्रमुख कारण पनि यही हो । त्यसमा कसैको दुईमत छैन ।
जनस्वास्थ्यविद् डा. न्यौपानेका अनुसार अब सरकारले बाहिरबाट नेपालमा आउनेतर्फ मात्रै ध्यान केन्द्रित नगरेर समुदायभित्रै पनि हेर्नुपर्ने बेला भइसकेको छ । हामीले सीमाबाहिरबाट संक्रमण भित्रिन्छ भनेर ढोका थुन्न खोज्दाखोज्दै झ्यालबाट प्रवेश गरिसकेको पत्तो पाएनौं भन्ने अहिलेको अवस्थाले दर्शाउने उनको तर्क थियो । ‘हामीले तीन महिनाअघि जे गर्नुपर्ने थियो, त्यो आजको दिनसम्म पनि गरेका छैनौं,’ उनले भने, ‘भारतबाट फर्कनेलाई व्यवस्थित क्वारेन्टाइनमा कसरी राख्ने भन्ने योजना नबनेको हुँदा एउटा खालको समस्या देखिने तय छ भने यहाँभित्रको समस्या त छँदै छ ।’
विज्ञहरूका अनुसार नेपालमा २ सय ४३ वटा मात्रै केस देखियो भनेर ढुक्क हुने अवस्था अहिले होइन । पछिल्ला दिन भेटिएका संक्रमितको २४ घण्टाभित्र व्यवस्थित रूपमा कन्ट्याक्ट ट्रेसिङ नहुने हो भने भोलिका दिनमा यो भयावह रूपमा फैलिन सक्छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला भन्छन्, ‘नेपालीले हामीलाई लाग्दैन र लागे पनि मरिँदैन भनेर नाक फुलाउनै पर्दैन । हिजोसम्म देखिएका कसैलाई पनि गम्भीर संक्रमण भएन, अब देखिने सयमा सयलाई नै आईसीयू चाहिन पनि सक्छ ।’
उनका अनुसार नेपालमा देखिएको भाइरसको क्षमता कमजोर रहेको जस्ता तर्कमा कुनै दम छैन । ‘त्यो हो कि होइन भनेर त अध्ययन हुनुपर्यो । वैज्ञानिक आधारसहित प्रमाणित हुनुपर्यो । नभए त सबै गफ मात्रै हुन्,’ उनले भने, ‘बरु साँच्चिकै नेपाली जनसंख्यालाई जोगाउने हो भने चुरोट खान बन्द गर्न लगाउनुपर्यो, व्यायाम गर्न प्रेरित गर्नुपर्यो, सबैले समयमै स्वास्थ्य जाँच गर्नुपर्यो ।’
स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार एक सातायता कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउने काममा केही प्रगति देखिएको छ । तर, त्यो अझै पनि अपेक्षाकृत भने छैन ।
कोरोनाको संक्रमणलाई रोक्ने यकिन फर्मुला केही नभएकाले आफ्नो गच्छेअनुसार मात्रै समुदायमा संक्रमण देखियोस् भन्ने अपेक्षा विज्ञहरूको छ । ‘हामी कहाँ एकैपटक धेरै देखियो र तिनलाई उपचार आवश्यक पर्यो भने के हविगत होला ? डर त्यही हो,’ डा. कोइरालाले भने, ‘त्यसैले नियन्त्रित रूपमा आओस् भन्ने चाहना हो । अहिले पनि धेरै बिग्रिएको छैन भन्ने सोचेरै नियन्त्रण गर्ने बेसिक्समै ध्यान दिनुपर्छ ।’कान्तिपुर दैनिकमा स्वरुप आचार्यले लेखेका छन् ।