प्रदेश २ मा ४ हजार २ सय ३६ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।
ती मध्ये ९५ जनाको रिपोर्ट पोजेटिभ छ भने ३ हजार २ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । ९ सय १ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा आज (बुधबार) मात्रै ३ सय जनाको स्वाब संकलन गरिएको छ ।
प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार २ सय ३ बेड क्षमताको १ सय ७९ वटा क्वारेन्टाइनमा १ हजार ६ सय १२ जना व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।
प्रदेशभरिमा अहिले ४ हजार ५ सय २० जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने ३ सय ४७ बेड क्षमताको आईसोलेसनमा ८४ जना भर्ना रहेको उनले बताए ।
त्यस्तै यस प्रदेशमा अहिलेसम्म ५ हजार ४ सय ८८ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ हजार ४ सय ७८ जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव घिमिरेले जानकारी दिए ।
प्रदेशमा संक्रमित ९५ मध्ये ८२ जना पर्साका,३ जना रौतहटका,३ जना बाराका,२ जना धनुषाका,२ जना महोत्तरीका,२ जना सर्लाहीका र १ जना सप्तरीका व्यक्ति छन् । यस प्रदेशमा सिरहा बाहेक बाँकी सातवटै जिल्लामा संक्रमित भेटिसकेका छन् । पछिल्लो दुई दिनमा मात्रै यस प्रदेशमा ६२ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा प्रतिशतको आधारमा हेर्ने हो भने ४३.३८ प्रतिशत संक्रमित भेटिएका हुन् ।
देशभर संक्रमित पाइएका २ सय १९ मध्ये १ सय ७६ जना पुरुष र ४३ जना महिला छन् । प्रदेश १ मा ३६, प्रदेश २ मा ९५, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ७२ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परिसकेका छन् ।