सुरुमा ५ शैयाको आइशोलेशन वार्ड बनाइएको र पछि संक्रमित थपिंदै जाँदा २५ , ५० हुँदै ७० शैयाको बनाइएको तर अब थप बेड राख्ने ठाँउ नै नभएको उनले बताए । अस्पतालको आइसियु , प्रसुती , मेडिकल , सर्जिकल , अर्थो गरी सबै वार्डमा बेड व्यवस्थापन गरी ६९ जना संक्रमित राखिएको उपाध्यायले जानकारी दिए ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले भने महानगरपालिकाले वीरगन्जकै गण्डक हस्पिटललाई अस्थायी कोबिड १९ अस्पताल बनाउने सम्झौता गरिसकेको भए पनि सरकारले समयमै स्वीकृति नदिएकाले यो समस्या आएको बताए । ‘हामीलाई थाहा थियो नारायणी अस्पतालले मात्रै संक्रमितको चाप थेग्न सक्दैन , त्यहि भएर महानगरले गण्डक हस्पिटलमा १ महिना पहिले नै कोबिड १९ हस्पिटल सन्चालनका लागि सहमति गरेको थियो’, सरावगीले भने ,‘तर राजनीति गरियो, समयमा मन्त्रालयले स्वीकृति दिएन, त्यसैको परिणम अहिले भोग्नु परिरहेको छ ।’
मङ्गलबार राति नै संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल नल्याइ घरमै राखिएका कारण उनीहरुबाट अन्य व्याक्तिमा संक्रमण फैलने जोखिम उच्च रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीले बताए । ‘यदि नारायणी अस्पतालमा ठाँउ छैन भने स्थानीय प्रशासनले आफ्नो अधिकार प्रयोग गरेर भए पनि तत्कालै अर्को कुनै अस्पतालमा व्यवस्थापन गर्नु पर्ने हो’ , ती स्वास्थ्यकर्मीले भने, ‘तर यहाँ एकले अर्कामाथि दोष मात्र थुपारिरहेका छन् ।’