दाङ । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ ।
काेरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन् धेरै बिजोग छ । हुरी, बतास आउँदा र पानी पर्दा उनीहरू पाल समातेर बस्न विवश छन् ।
भारतसँग जोडिएको दाङको ८३ किलोमिटर क्षेत्रमा तीन नाकामा मात्रै सशस्त्र प्रहरीको बिओपी छ, ३१ वटा खुला नाका छन् । लकडाउनपछि भने सात स्थानमा अस्थायी पोस्ट राखिएको छ । नयाँ र पुराना कुनै पनि स्थानमा सशस्त्र प्रहरीका आफ्नै भवन छैनन् ।
गत आइतबार भारतको हिमाञ्चल हुँदै नेपालको पश्चिम क्षेत्रमा हावाहुरीसहित ठूलो वर्षा भयो । दिउँसो करिब ३ बजेतिर हावाहुरी धनगढी आइपुगेको खबर सुनेपछि बर्दियाको कालाबन्जरस्थित सशस्त्र प्रहरीको बिओपीमा हल्लीखल्ली मच्चियो ।
हावाहुरीबाट टिनका टहरा जोगाउन हतारहतार जवानहरू खटिए । टिनका छानामा माथिबाट फलामे तार लगाई जमिनमा काठका किला ठोकेर बाँध्न थाले । तर, हुरी आउन्जेल गाडी राख्ने र खाना खाने टहरो भने बाँध्न भ्याएनन्, दुवै टहराको टिन हुरीले उडाएर लग्यो ।
बिओपी राख्दा सुरुमा त्रिपालको ओत मात्रै थियो । गत वर्ष तीनपटकसम्म हुरीले त्रिपाल उडाएपछि स्थानीय व्यापारी र इँटा उद्योगीको सहयोगमा सशस्त्रले टिनका टहरा बनाएको थियो, तर ती पनि असुरक्षित छन् । ऐलानी जग्गामा टहरा बनाइएका छन्, पक्की घर बनाउन बजेट छैन । पटक–पटक गृह मन्त्रालयमा आग्रह गर्दासमेत जग्गा पाउन नसकिएको सशस्त्रका एक अधिकृतले बताए ।
बर्दियामा सशस्त्र प्रहरी सीमा सुरक्षा बलको एक हेडक्वार्टर र पाँचवटा बिओपी छन् । हेडक्वार्टर मात्रै आफ्नै जग्गामा व्यवस्थित रूपमा बनेको छ । पछिल्लो समय कोरोनाको संक्रमणबाट जोगाउन सीमामा खटिएका सशस्त्र प्रहरी त त्रिपालमुनि नै कष्टकर ढंगले बसेका छन् । हावाहुरी र पानी पर्दा उनीहरूलाई ज्यान जोगाउनै हम्मे पर्छ ।
कैलालीको फूलबारीस्थित वडा कार्यालयको भवनमा बसेको सशस्त्र प्रहरीको बिओपीमा न्यूनतम पूर्वाधारसमेत छैनन् । टिनको छानोमा रहेको एउटै हलमा कोचिएर बस्छ ३५ जनाको टोली । हलकै एक कुनामा कम्प्युटरलगायत सामान राखेर कार्यालय बनाइएको छ । ३५ जनाका लागि दुईवटा शौचालय र एउटा पानीको धारा छ । नयाँ पत्रिका दैनिकबाट