प्रहरीको ज्यादतीविरुद्ध पत्रकारको धर्ना र प्रदर्शन (भिडीयो सहित)
वीरगंज संजाल
२९ बैशाख २०७७, सोमबार १७:२७
५१४१
वीरगन्ज | लकडाउनमा प्रहरीले पत्रकार, स्वास्थ्यकर्मी ,बैंकर्समाथि गरेको ज्यादतीको विरोधमा वीरगन्जमा सोमबार पत्रकारहरुले सडकमा धर्ना दिएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले घण्टाघर चोकस्थित सडकमा सोमबार बिहान ८ देखि साढे ८ बजे उभिएर धर्ना दिएर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा पत्रकारले सामाजिक दुरी भने कायम राखेका थिए । कोरोना भाइरसको महमारी रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनादेखि लकडाउन जारी छ । तर लकडाउन पालना गराउने बहानामा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुर्व्यवहार गर्ने तथा विभिन्न पेशा, व्यवसायदेखि नागरिक समाज र सर्वसाधारणलाई प्रहरीले दुर्व्यवहार गरेको गुनासो बढेको छ ।
सोमबार मात्रै वीरगन्जको नारायणी एफएम र नयाँ पत्रिकाका संवाददाता तिवारी यादवलाई एफएम स्टेशनबाटै पक्राउ गरेर हातपात गरेको थियो । ४ घण्टा प्रहरी नियन्त्रणमा राखिएका यादवलाई पत्रकार संगठनको दबाबमा सोमबार बेलुकी साढे ६ बजे रिहा गरिएको थियो । उनको मोबाइल भने प्रहरीकै नियन्त्रणमा छ ।
दुइ दिनअघि वीरगन्जका बैंकर्सहरुले पनि प्रहरीको ज्यादति बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरु बन्द गरेका थिए । यस्तै चार दिन पहिले नारायणी अस्पतालका चिकित्सकहरुले पनि पत्रकार सम्मेलन नै गरेर प्रहरीले चिकित्सक र स्वास्थ्यकर्मीसंग दुर्व्यवहार गरेको गुनासो गरेका थिए । बैशाख ६ गते वीरगन्जका औषधी पसलेहरुले पनि प्रहरीले ज्यादती गरेको भन्दै २ दिनसम्म औषधी पसलहरु बन्द गरेका थिए ।
सोमबार बिहान धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले लकडाउनमा प्रहरीको ज्यादती बढ्दै गएकाले त्यसको विरोधमा महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताए । ‘वीरगन्जमा पत्रकारसँग प्रहरीले अपराधीको शैलीमा व्यवहार गरिरहेको छ’ , उनले भने, ‘पत्रकार तिवारी यादवको मोबाइल अझै पनि फिर्ता दिएको छैन, पत्रकार यादवलाई अनाहकमा पक्राउ गरी कुटपिट गर्ने दोषी प्रहरीमाथि कारवाहीको माग गरिए पनि पर्सा प्रहरीले अझै बेवास्ता गरेको छ ।’
दोषी प्रहरीलाई कार्वाही नगरिए पत्रकार महासंघ अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले पर्सा प्रहरीको जनता माथिको व्यवहार असहिष्णु हुदै गएको आरोप लगाए । जनताको करबाट राष्ट्रसेवकको रुपमा काम गर्ने प्रहरीले विना पारिश्रमिक समाजलाई सुसूचित गर्ने सेवामा कार्यरत पत्रकारहरुलाई लाठी चलाएर शासन गर्ने दिवास्वप्न नदेख्न भन्दै उनले प्रहरीलाई चेतावनी दिए । anpurnapost