पर्सामा प्रहरीको ज्यादती, बिना कारण दादागिरि हेराउदै पक्राउ गरियो पत्रकार यादवलाई
वीरगंज संजाल
२८ बैशाख २०७७, आईतवार १७:४४
८८४१
बीरगन्ज । बीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आइतबार दिउसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।यादव, नयाँ पत्रिकाको पर्सा संवाददाता पनि हुन् ।
एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किङ गरिराखेका थिए । दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिए । साहले भने, ‘प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, तिवारी यादवले गाली नगर्नुस् हामी हटाइ हाल्छु भन्ने वित्तिकै एक जना प्रहरीले लछारपछार गर्दै यादवलाई गाडीमा हालेर लगे ।
प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको साहले बताए । एफएम स्टेशनकै गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएका पत्रकार यादवलाई प्रहरीकै भ्यानभित्र राखिएको छ । उनलाइ गाडीबाट झर्न दिइएको छैन ।
पत्रकार यादवलाई प्रहरीले पक्रेर लगेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका संचारकर्मीलाई समेत यादवसँग भेट गर्न दिइएको छैन । प्रहरी कार्यालयको मुल गेट बाहिर भेटिएका नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराले प्रहरीको ज्यादती बढेको बताए ।
लकडाउनमा प्रहरीको ज्यादती बढेको छ, उनले भने, ‘अरु तिरको रिस प्रहरीले संचारकर्मीमाथि पोख्न थालेको छ, प्रहरीको यो रवैयाको सशक्त प्रतवाद गरिन्छ ।’ पत्रकार यादव पक्राउ परेको घटनाबारे बुझ्न पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलाई फोन गर्दा उनले भनिन्, ‘डीआइजी साब आउनु भाछ, म त्यसैमा अहिले व्यस्त छु ,पछि कुरा गरौंला ।’ श्रोत : अन्नपूर्ण