किट अभावमा क्वारेन्टाइन बसेकालाई परीक्षण नै नगरी घर पठाउन थालियो
वीरगंज संजाल
२८ बैशाख २०७७, आईतवार ०६:५१
३०४७
रुकुम पूर्व । र्यापिड डाइग्नोष्टिक टेष्ट किट सकिएकाले रुकुम पूर्वमा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ । भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका दुई सयभन्दा बढी व्यक्तिलाई जाँचविनै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए ।
क्वारेन्टाइनबाट घर पठाइएका उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ । प्रशासन कार्यालयको तथ्याङ्कानुसार १६५ नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडिटी गरिएको छ ।
कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो । त्यसमध्ये १२९ जनाको आरडिटी गरिएको र ३१ किट आकस्मिक अवस्थाका लागि राखिएको छ । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नपठाइएको शर्माले बताए ।