सन्नी |सिमरा | प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको निर्णयमा बारामा रहेका सूर्य नेपाल बहुराष्ट्रिय कम्पनी, जगदम्बा स्टील र हुलास स्टील उद्योग सञ्चालनमा आउने भएका हुन् ।
राष्ट्रिय प्राथमिकता प्राप्त विकास निर्माण आयोजनामा सामाग्री अभाव हुन नदिने उदेश्य र ठूलो करदाता कम्पनि समेत रहेकाले उद्योग सञ्चालनमा ल्याउने निर्णय भएको ईलाका प्रशासन कार्यालयका प्रमख कृष्ण गैरेले जानकारी दिए । यसअघी मंगलवार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतले उद्योगको स्थलगत निरिक्षण गरेका थिए ।
यसरी सञ्चालन अनुमती पाएका उद्योगहरुले कोभिड १९ बाट बच्नका लागि आवश्यक सावधानी र मजदुरहरुको स्वास्थ्य सम्वेदशिलतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
उद्योगले आफुसँग भएका कच्चा पदार्थ र १५ प्रतिशत जनशक्तिको प्रयोग गरी ३० देखि ४० प्रतिशत सम्म उत्पादन गर्ने गरी उद्योगहरु सञ्चालनका लागि अनुमति दिईएको प्रशासनले जनाएको छ ।
तोकिएको मापदण्डभित्र रहेर सञ्चालन भए नभएकोबारे जनप्रतिनिधि र स्थानीय प्रशासनले निरन्तर अनुगमन गर्ने बताईएको छ ।
प्रशसनले अनुमति दिएपछि उद्योगहरुले सञ्चालनको तयारी थालेका छन् । ‘विशेष सुरक्षा सतर्कतासहित उद्योग सञ्चालनको अनुमती मिलेको छ ।’ जगदम्बा स्टील उद्योगका प्रवन्धक कुमुद ढकालले बारा खबरसँग भने, ‘सबै सर्तहरु पालना गरि उद्योग सञ्चालन गर्ने तयारीमा छोँ ।’