नारायणी अस्पतालबाट प्रदान हुने उपचार सेवा सरकारी दर र सहुलियतमा प्रदान गर्ने जिम्मेवारी नेशनल मेडिकल कलेजलाई दिइएको छ । तर मेडिकल कलेजले सरकारको निर्देशन विपरित चर्को शुल्क लिइरहेको बिरामीहरुको गुनासो छ ।
सरकारले कोबिड हस्पिटल तोकेदेखि नै वीरगन्जका जनता र संघस्ंथाले निरन्तर विरोध गरिरहँदा पनि सुनुवाइ नभएपछि जनताको आवाज मुखरित गर्न बाध्य भएर सडकमा उत्रिएको उनले बताए । ‘नारायणी अस्पताल जनताको अस्पताल हो, यहाँ आम जनताको उपचार हुनुपर्छ’, उनले भने,‘यदि सरकारले अब पनि जनताको यो आवाज सुनेन भने लकडाउन तोडेर ठूलो संख्यामा जनता सडकमा आउन बाध्य हुनेछन् ।’
नेपाल चिकित्सक संघले पनि कोबिड १९ अस्पताल बनाइएको नारायणी अस्पताललाई जनअपेक्षाअनुरुप पुन जनरल अस्पताल कायम गरी सबै रोगको उपचार सेवा सुचारु गर्न माग गरेको छ । नारायणी अस्पतालमा जनरल सेवा सन्चालन नहुँदा प्रसूती लगायत अन्य सेवाका रोगीहरु उपचार बिहीन बनेको र सरकारले विकल्प दिएको निजी अस्पतालले सरकारी अस्पतालको जस्तो सस्तो सुलभ र स्तरीय सेवा प्रवाह गर्न नसकेको जनगुनासो आइरहेकोले, नारायणी अस्पतालको जनरल सेवा सुचारु गर्नु पर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैशाख १३ गते पनि नारायणी अस्पतालमा पुन सबै रोगका बिरामीको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै वीरगन्जको आदर्शनगरमा स्थानीयले सडकमा निस्किएर थाल ठटाएर प्रदर्शन गरेका थिए । त्यसअघि जनता समाजवादी पार्टी र नेविसंघले पनि सडक प्रदर्शन गरेको थियो । सरकारले कोबिड १९ अस्पताल बनाएको नारायणी अस्पतालमा हाल कोरोनाका ९ जना संक्रमित उपचाररत छन् । anpurnapost