भारतमा अलपत्र बझाङ्गी भन्छन्, ‘बाथरुमको पानी र तेल नसुकेको पुरी कति खानु ?’
वीरगंज संजाल
२१ बैशाख २०७७, आईतवार ०६:२४
२६९७
वीरगंज । बझाङको थलारा गाँउपालिका घर भएका ९३ जना भारतको रामपुर क्वारेन्टाइनमा ३७ दिनदेखि रोकिएका छन् । भारतको रामपुरस्थित क्वारेन्टाइनमा बझाङका १३ जना महिला, २० जना बालबालिका, ४ जना वृद्धवृद्धा र ७५ जना पुरुषहरुले कष्टकर जीवन बिताइरहेका छन् ।
उक्त क्वारेन्टाइनमा नै एक जना महिला दुई साता अगाडि सुत्केरी भएकी छन् । त्यस्तै, अन्य दुई जना पनि सुत्केरी हुने अवस्थामा रहेका छन्, जसको कारण पनि समस्या थपिएको छ ।
भारतको विभिन्न शहरबाट घर फर्कनका लागि हिडेका उनीहरु लकडाउनका कारण दुवै नेपाल र भारत दुवैतर्फ सीमा नाका बन्द गरिएसँगै उनीहरुलाई रामपुरस्थित क्वारेन्टाइनमा राखिएको हो ।
रामपुरको एक सार्वजनिक घरमा बनाइएको उक्त क्वारेन्टाइनमा राखिएका उनीहरुलाई त्यहाँको प्रहरी प्रशासनले बाथरुमको पहेँलो पानी र हरेक दिन तेल नसुकेका पुरी एक पटक मात्रै खान दिने गरेको थलाराका भरत थापाले दुखेसो पोखे ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, “हामीलाई यहाँ राखिएको ३७ दिन पुगिसक्यो । दिनको एक पटक मात्रै खाना दिन्छन्, त्यो पनि पुरी र आलु मात्रै । हामी युवाहरु त जसोतसो सहौंला तर, यी नाबालक, महिला र वृद्धवृद्धा समस्या देखिसक्नु छैन । यहाँको सरकारले आफ्ना नागरिकलाई यही घरमै ल्याएर राख्न थालेको छ । अब झन् कोरोना संक्रमणको डर थपिएको छ ।’
थलाराकै रागव बाँनियाँले पनि स्थानीय तह र बझाङबाट प्रतिनिधित्व गरिरहेका सांसदले आफ्नो कुरा नसुने जस्तो गरेको गुनासो पोखे ।
उनले भने, ‘२१ दिन त्यहाँको क्वारेन्टाइनमा बस्नुहोस्, त्यसपछि नेपाल भित्र्याउँछौं भन्ने थलारा गाउँपालिकाका जनप्रतिनिधि ३७ दिन पुगिसक्दा पनि हाम्रो फोन उठाउँदैनन् । हिजो भोट माग्दा हामीलाई पैसा दिएर भारतबाट गाउँ बोलाएका थिए । आज हाम्रो भोटको अवमूल्यन भयो ।
झुलाघाट र धार्चुलाका नेपाली नेपाल ल्याइसके हामीलाई मरे पनि यिनीहरुको मनसम्म दुख्दैन होला । हामीलाई उद्दार गरेर नेपालमा लग्नुहोस् हामी आफ्नै गाउँको क्वारेन्टाइनमा जति पनि बस्न तयार छौं । तर, यो हालतमा अब सहन गाह्रो भइसक्यो ।’
घरमा बुढा बुढी आमाबुबा मात्रै रहेका दुई युवाहरु सोच्दासोच्दै मानसिक रोगका बिरामी भइसकेको भरत थापाले बताए ।
आफूहरुले भारतीय राजदुताबास, थलारा गाउँपालिका जनप्रतिनिधि, सांसद र सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतसँग उद्दारका लागि फोन गरेपनि कसैले चाँसो नदेखाएको उनको गुनासो छ । एकले अर्कालाई भन भनेर टार्ने गरेको उनको दुखेसो छ ।
त्यहाँको प्रहरीले पनि अपमान गर्ने गरेको र प्रहरीले तिम्रो सरकारले उतैबाट नछोड्नु भनेकाले तिमीहरुलाई नछोडेको भन्ने गरेको पनि उनीहरुले बताए ।
यता प्रतिनिधिसभा सदस्य आशाकुमारी बिक, थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले संघीय सरकारको आदेश मात्र पर्खिरहेको बताएका छन् ।
थलारा गाउँपालिकाका अध्यक्ष भूवनेश्वर उपाध्यायले भने, ‘हामीले दुई तीन वटा बस तयारी अवस्थामा राखेका छौं । गृह मन्त्रालयले ल्याउने अनुमति दिनासाथ हामी उद्दारका लागि त्यसतर्फ जानेछौं । हामी पनि लागेकै छौं । केही गरेनन् भन्नु गलत हो ।
क्वारेन्टाइन सबै व्यवस्था मिलाइएको छ । कहाँबाट कसरी हुन्छ, लागिरहेकै छौं । कैलाली र कञ्चनपुरका सिडियो कुरा गरेँ । पूर्व वनमन्त्री भानुझक्त जोशीलाई पनि यसबारे कुरा गरेँ । यो सीमा नाकाको कुरा भएकाले केन्द्र सरकार र भारत सरकारले अनुमति दिए मात्रै सम्भव छ । उनीहरु सीमानाकाबाट १५० किलोमिटर टाढा भएकाले गाह्रो भएको हो ।’
संविधानसभा सदस्य अफिलाल ओखेडाले भने थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले पहल गर्न आनाकानी गरेको आरोप लगाएका छन् ।
उनी भन्छन्, ‘अध्यक्षले चाह्यो भने जतिखेर पनि सम्भव छ । मेरा नागरिक यस ठाउँ अलपत्र छन्, भनेर प्रमुख जिल्ला अधिकारीसँग निवेदन गरेर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर थलारा गाँउपालिकाले आफ्ना नागरिक ल्याउन सकिन्छ । यो अध्यक्षकै कमजोरी हो । कहाँको केन्द्र सरकारको निर्देशन कुर्नुप-यो । झुलाघाट र धार्चुलाबाट यसरी नै ल्याइएको हो ।’
यसैबीच पश्चिमी नाका धार्चुला र झुलाघाट नाकाबाट बझाङ ल्याइएका ५ सय ८ जनालाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राखिएको छ ।news24
फोटो : लकडाउनका कारण भारतको रामपुरमा एक महिना अगाडिदेखि रोकिएका थलारा गाँउपालिकाका नागरिकहरु ।